लुम्बिनी प्रदेशसभामा अवरोध कायमै, अहिलेसम्म बजेटमाथि छलफल हुन सकेन

काठमाडौं । सत्तापक्षले बजेटमा एकलौटी र पूर्वाग्रह राखेको भन्दै लुम्बिनी प्रदेश सभामा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । सदन नचलेपछि असार १ गते आएको बजेटमाथि अहिलेसम्म छलफल हुन सकेको छैन ।

एमालेले यसअघिका महत्त्वपूर्ण आयोजनाका बजेट र सांसदले पेश गरेका अत्यावश्यक योजना समेत कटौती गरेर बजेट ल्याएको भन्दै एमालेले विरोध जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता लीला गिरीले सदनको सुरुमै बजेटका बारेमा धारणा राखेर बजेट पूर्वाग्रही, सतही, संघीयताको मर्म विपरीत, बेथिति निम्त्याउने र कार्यकर्ता पोस्ने खालको आएको भन्दै सच्याउनुपर्नेमा जोड दिएका थिए ।

बजेटको विरोधमा सत्तापक्षकै पनि कतिपय सांसदहरू देखिएपछि सरकारलाई हम्मे हम्मे परेको छ । सदन सुरु भएका दिनदेखि बजेटका बारेमा छलफल नै सुरु भएको छैन ।

सरकारले यसका लागि आवश्यक वातावरण नै बनाउन सकेको छैन । मुख्यमन्त्री डिल्ली चौधरी सदनको गतिरोध हल गर्नेतिर भन्दा जिल्ला दौडाहामा केन्द्रित भएको भन्दै सत्तापक्षकै सांसदले गुनासो गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते सदनमा बजेट प्रस्तुत गरेका थियो । आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गरेका थिए ।

बजेट सार्वजनिक भएपछि सत्तापक्षकै केही सांसदले सांसदहरुसँग मागिएका योजनाहरू समेत कुनै समावेश नभएको भन्दै विरोध गरेर १० गते बोलाइएको सदन रोकिएको थियो ।

एकातिर प्रमुख प्रतिपक्षी दलको सशक्त प्रतिरोध र अर्कोतिर सत्तापक्षै सांसदले विरोध गरेपछि सरकारलाई सकस भएको छ । चौतर्फी विरोधका स्वर बढ्न थालेपछि दश दिन ढिला गरी सदन आह्वान गरियो । तर, आह्वान गरिएका दिनमा पनि सदन चल्ने वातावरण बनेन ।

१० गते आह्वान गरिएको बैठक बस् न नसकेपछि तीन दिनपछि १३ गतेलाई सारियो । कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची बनाउन सहमति जुटाउन खोजियो ।

त्यस दिन प्रमुख प्रतिपक्ष दलका नेता लीला गिरीले सम्बोधन गर्दै बजेटलाई संशोधन गरेर समृद्धिका आधार साकार पार्न केन्द्रित गर्नुपर्ने माग गरे । सत्तापक्षले त्यसमा चासो दिएन । त्यसपछि एमाले सांसदहरूले विरोध शुरु गरे ।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सदनमा उभिएर बजेट पूर्वाग्रही र कार्यकर्ता पोस्ने खालको आएकाले यसलाई स्वीकार गर्न नसकिने भन्दै विरोध जनाए ।

त्यसपछि एमालेका सबै सांसदले उभिए । सभामुख तुलाराम घर्तीले सहमति खोज्ने भन्दै आधा घण्टा स्थगित गरेको बैठक चल्नै सकेन र बैठक नै नबसी सूचना टाँस गरेर १७ गतेलाई आह्वान गरियो ।

असार १७ गते आइतबार ढिलागरी बैठक शुरु भयो । सभामुखले अर्थ मन्त्री धनबहादुर मास्कीलाई प्रस्तावित बजेटमाथि छलफलका लागि प्रस्ताव पेश गर्न समय दिए । लगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरू रोष्ट्रम घेराउ गर्न पुगे ।

आइतबार बसेको लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १३ औं बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरूले नाराबाजी गरे र सदनको कारबाही अगाडि बढ्न सकेन ।

यो सिलसिला सोमबार पनि कायमै रह्यो । सोमबारको बैठकमा पनि प्रतिपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सम्बोधन गर्दै सरकारले एकलौटी र बलमिचाइँ गरेर अगाडि बढ्न खोजेकाले सदनमार्फत् विरोध जनाएको उल्लेख गरे । बजेटमा भएका कमजोरी र निर्देशनालय हटाउने निर्णयलाई सच्याउन आफूहरूले माग गर्दै आएको उनले दोहोराए ।