नेपाल आयल निगम नाफामा, मासिक नाफा तीन अर्ब भन्दा माथी

काठमाडौं । लामो समय देखि घाटा बेहार्दै आएको नेपाल आयल निगमको मासिक नाफा अहिले तीन अर्ब रुपैयाँ नाघेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन् । यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी भएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ताको भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्ने गर्छ । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य हवाई इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर सात सात रुपैयाँ नाफामा छ ।

निगमले आईओसीको झन्डै २४ अर्ब रुपैयाँ बक्यौता पनि तिरिसकेको छ । गएको सेप्टेम्बर महिनादेखि निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको कारोबारमा नाफा कमाइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका बेला त्यसै अनुपातमा नेपालमा शुल्क नबढाइएकोले घाटा भएको र त्यसलाई पूर्ति गर्न अहिले मूल्य कम घटेको निगमका प्रवक्ता मनोज ठाकुरको दाबी छ । यस पटक छिटै सञ्चालक समिति बैठक बसेर उपभोक्ता मूल्य घटाउने गरी गृहकार्य गरिरहेको प्रवक्ता ठाकुरले बताए ।

ताजा अपडेट