प्रधानमन्त्री प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बन्यो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको बताएका छन् ।

पोखरेलले प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन एकजना भारतीय पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्ति अक्षम्य भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्नै महासचिव पोखरेलले प्रचण्डको उक्त अभिव्यक्ति सत्ता र शक्तिका लागि जे पनि गर्छन् भन्ने शृङ्खलाको हदैसम्मको नकचरोपन भएको गम्भीर आरोप लगाएका छन् ।

नेपालको प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्य रुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो भन्दै महासचिव पोखरेलले जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य भएकाले यस विषयमा प्रतिनिधि सभाका सदस्यहरूको ध्यान गम्भीर रूपमा जानुपर्ने बताएका छन् ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सिन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रचण्डले प्रितम सिंहले ‘एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरै चोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू साथीहरूसँग लगातार छलफल गर्नुभयो’ भन्ने अभिव्यक्ति दिएका थिए ।