काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने प्रचण्डले आफ्नै गालामा बियाँ टाँसिएको पत्तो पाउनु भएन : विष्णु रिमाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको जवाफ खोज्नै पर्ने बताएका छन्।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि उनले प्रचण्डलाई प्रितम सिंहले बनाएका प्रधानमन्त्रीको संज्ञा दिए।

उनले फेसबुकमा लेखेका छन्, ‘सधैँभरि आफूले काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपालि बियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ ?’

उनले यसपालि तपाईँलाई प्रधानमन्त्री कसले बनायो रु भन्दै प्रश्न गरे।

उनले भनेका छन्, ‘हामीलाई विश्वास छ, संसद्ले हाम्रो प्रतिनिधित्व गर्छ । त्यसैले दाहालजीसँग आज कम्तीमा पनि संसद्ले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपालि कसले दिल्लीमा ओहोरदोहोर गर्‍यो ?’

पाँच वर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्ने÷गराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्ने गरी चुनिएका संघीय संसदका सांसदहरू कसैका रबर स्ट्याम्प हुन् र ? उनले प्रश्न गरे।

‘तपाईँहरूलाई लाग्दैन सभा हलमा टेबल ठोकी ठोकी आफूले चुनेँ भनेको प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोरदोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको छ’ उनले भनेका छन्।