रघुजी पन्तको आक्रोश : सेक्सपियरको घर हेर्न टिकट काट्नुपर्छ, भानुभक्तको घर हेर्न जाँदा बैराग लागेर आउँछ

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले तनहुँमा रहेको नेपाली साहित्यका आदिकवी भानुभक्त आचार्यको भग्नावशेषमा परिणत भएको घर निर्माणका लागि सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद पन्तले आदिकवी आचार्यको जलेको घर बनाउन कु्नै पनि सरकारले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे।

‘२० वर्ष भयो तनहुँको चुँदी रम्घामा रहेको भानुभक्त आचार्यले बनाएको घर जलेको । कसैले बनाउँदैनन्,’उनले भने,’त्यहाँ जाँदाखेरी प्रत्येक साहित्यप्रेमीको मन रुन्छ।’

विदेश जाँदा त्यहाँका राष्ट्रिय व्यक्तित्वहरूको घर हेर्न ठूलो रकम खर्च हुने गरेको भन्दै सांसद् पन्तले आदिकवी भानुभक्तको घर हेर्न जाँदा बैराग लागेर आउने बताए। ‘लण्डन जानुहोस् सेक्सपियरको घर देखाउन लैजान्छन् । रुसमा जानुहोस् पुस्किनको घर देखाउन लैजान्छन। चेखबको घर देखाउन लैजान्छन र गोर्कीको ठाउँ देखाउन लैजान्छन्। र संसारका पर्यटकहरुले त्यहाँ टिकट काटेर हेर्छन्,’उनले भने,’हाम्रो आदिकवी भनेर जसलाई भन्छौं उनको घर हेर्न जाँदा बैराग लागेर आउँछ। जलेको घर, झार उम्रेको बारी। अनि संस्कृतिमन्त्रीको ध्यान। ‘

उनले संस्कृति मन्त्रालयले संगीत र नाट्य क्षेत्रमा सरकारको चाँसो नरहेको बताए। उनले प्रज्ञाप्रतिष्ठानको भवनका लागि छुट्एको १५ रोपनी जग्गा लिजमा व्यापारीलाई दिएको भन्दै आक्रो व्यक्त गरे।

सरकारले धर्म संस्कृतिको जगेर्ना गर्न नसकेको उनको भनाइ छ। संस्कृतिप्रति सरकार उदासिन भएका कारण कलाकारहरू राजा महेन्द्रलाई सम्झने गरेको बताए। उनले भने,’किन कलाकारहरू राजा महेन्द्रलाई सम्झन्छन्। किन सरकारलाई गाली गर्छन् भन्ने कुरा यो गतिलो उदाहरण हो। म राजतन्त्रवादी होइन। तर गणतन्त्रवादीहरूले पनि राम्रा कुराहरू राजाहरुका पनि सिक्नुपर्छ। नराम्रा कुराहरू त्याग्नुपर्छ र राम्रा कुरा सिक्नुपर्छ।’

सांसद पन्तले संस्कृति मन्त्री सुदन किराँतीले मुलुको संस्कृतिप्रति ध्यान नदिएको बताए। ‘उहाँ यो प्रज्ञाप्रतिष्ठानमा आवद्ध भइसकेपछि जुन ढंगले संगीतको, नाट्यको क्षेत्रमा काम गर्नुहोला भन्ने थियो त्यो हुन सकेन। उल्टै जग्गा लिजमा दिनुभयो,’उनले भने,’यो लिजमा लगाउने कुरा तुरून्द बन्द गरियोस्।’

उनले अर्थमन्त्री र संस्कृतिमन्त्री मिलेर प्रज्ञाप्रतिष्ठानको भवन बनाउन बजेट निकासा गर्न सुझाव दिए। सांसद पन्तले देश भनेको राजनीतिक मात्रै नभइ संस्कृति, भाषा, साहित्य र जनताको ढु्कढुकी भएको बताए। संस्कृतिलाई जोगाउन सकिए भने देशको मौलिकता जोगाउन नसकिने उनको भनाइ छ।