आजदेखि पेट्रेलियम पदार्थमा स्वचालित मूल्य लागू

काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुनेछ।

‘हामीले त्यही अनुसार तयारी गरिरहेका छौं। भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ। त्यसमा मूल्य घटेर आए मूल्य स्वतस् घट्छ भने बढेर आएको खण्डमा बढ्छ,’ ती कर्मचारीले भने।

उनका अनुसार पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट मूल्य घटेर आउँदा त्यसको लाभ उपभोक्ताले नै पाउने गरि मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्नेगरि मूल्य बढाउने व्यवस्था हुन्छ। यसमा निगमले आफ्नो ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले ३ प्रतिशत नाफा राख्ने उनले बताए। तर यो नाफा एलपी ग्यासमा भने नराखिने उनले बताए।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार यसरी स्वचालित मूल्य लागू गर्न लागिएको हो। यस विषयमा कसरी गर्ने भन्ने लगायतका कुराहरुमा निगम संचालक र निगमका महानिर्देशक उमेश थानी लगायत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरुले प्रधानमन्त्रीसँग समेत छलफल गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचालित मूल्य लागू गर्न ग्रिन सिग्नल दिएपछि निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य आइतबारबाटै लागू गर्ने तयारीमा निगम पुगेको ती कर्मचारीले बताए।

बजार व्यवस्थापन विभागका नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतले पनि यसमा निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य जति बढेर आउँछ त्यति बढाउने र जति घटेर आउँछ त्यति घटाउने गरि स्वचालित मूल्य लागू गरिने बताए। उनले आइतबारबाटै उक्त स्वचालित मूल्य लागू हुने बताए।

‘यसमा अबदेखि २० रुपैयाँ बढेर आउछ भने २० रुपैयाँ नै बढ्छ। २० रुपैयाँ घटेर आउछ भने २० रुपैयाँ नै घट्छ,’ उनले भने।

चौतर्फी रुपमा स्वचालित मूल्य कायम गर्न दबाब आएपछि यस्तो गर्न लागिएको उनी बताउँछन्। अबदेखि निगमले मूल्य निर्धारण गर्ने भन्दा भारतबाट आउने नयाँ मूल्यसूचीले नेपालको पेट्रोलियम पदार्थमा मूल्य कायम गर्न निर्भर हुने उनले बताए। केहि महिना अगाडिको जस्तो अब भने निगमले घाटा खाएर पेट्रोलियम पदार्थको मूल्य निर्धारण नहुने उनको भनाइ छ। अब जति जे आउछ त्यति नै नेपालको मूल्यमा समायोजन हुन्छ।