लेखा अधिकृतविरुद्ध ४ करोड ६७ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्कीले २०५३ देखि २०७९ सम्म जागिर अवधिमा एक करोड आठ लाख अड्चालीस हजार पाँच सय नब्बे रुपैयाँ छ पैसा वैधानिक आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

तर, सोही अवधिमा उनले सिर्जना गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा व्याज, बिमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, बिभिन्न कम्पनीहरुको शेयर खरिद तथा लगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी पाँच करोड पचहत्तर लाख सतासी हजार तीन सय सत्तरी रुपैंयाँ बहत्तर पैसा देखिन आएको अख्तियारले जनाएको छ ।

सो सिर्जित आयबाट निजको व्यय घटाउँदा चार करोड सत्सठ्ठी लाख अठतिस हजार सात सय असी रुपैयाँ छैसठ्ठी पैसा बराबर रकम अवैध आर्जन गरेको देखिएको अद्यितयारले जनाएको छ । सोहीअनुसार उनीविरुद्ध चार करोड सत्सठ्ठी लाख अठतीस हजार सात सय असी रूपैयाँ छैसठ्ठी पैसा बिगो कायम गरी मागदावी लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।