मध्यरातमा झरना थापा लेख्छिन्– चलचित्र चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ

काठमाडौं । चलचित्र ‘एक भगवत गीता’ले सेन्सर अनुमति नपाएपछि निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत बेदना पोखेकी छिन् । गए राति फेसबुकमा भावुक स्टाटस राख्दै थापाले सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएको भन्दै अब आफूले यो विवादको फैसला भगवानको हातमा छोडिदिएको उल्लेख गरेकी छिन् ।

ुमध्यरातमा मैले आज यो लेखिरहँदा धेरै जना निदाइसक्नुभएको होला, कति जना अझै निदाउनुभएको छैन होला ।मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु, प्रार्थना गर्छु, जो जति जना निदाउनु भएको छैन, हजुरहरू ननिदाउने कारण मेरो जस्तो नहोस्ु, झरनाले लेखेकी छिन्, ुमैले मेरो जीवनको तीन दशक अनवरत रूपमा चलचित्र क्षेत्रमा दिएँ । प्रिय दर्शक हजुरहरूको मायाले म पर्दामा छाइरहेँ । मैले पनि दिनरात, झरी बादल, घरपरिवार नभनी हजुरहरूलाई मनोरञ्जन दिन अथक काम गरिरहेँ । सम्पूर्ण नेपाली दर्शकको माया र साथको कारणले म अभिनय हुँदै निर्देशनमा आइपुगेको छु । म जहाँ छु, जे छु, जस्तो छु, म नेपाली जन र नेपाली मनको आशीर्वादले छु ।ु

‘समाजको केही यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौँ ‘ चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्णप्रतिको असीम आस्थालाई केन्द्रमा राखेर चलचित्रको नाम ‘एक भगवत गीता राख्यौँ । मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन । हामीले एक भगवत गीता निर्माण पूरा गरेर अब हजुरहरूको हातमा सुम्पन तयार भइसकेपछि चलचित्रको नाममाथि प्रश्न उठाइयोु, झरनाले अगाडि लेखेकी छिन्, ‘हामीले उठेका प्रश्नहरूको विनम्रतापूर्वक उत्तर दियौँ । हामीले हाम्रो चलचित्रमा हिन्दू पवित्र ग्रन्थ श्रीमदभागवत गीताको कुनै पनि अवहेलना गरेका छैनौँ भनेर कथाको सार नै प्रस्तुत गर्‍यौँ ‘ चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौँ ‘ अझ चित्त नबुझे रिलिजपूर्व चलचित्र हेर्न पनि अनुरोध गर्‍यौँ । मेरो आफ्नो जीवननै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमदभागवत गीता आफैँमा मेरो चलचित्र कर्मको प्रेरणा हो । म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमदभागवत गीताको अवहेलना नभएको सप्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन ।’

उनले आफ्नो सारा स्रोत सम्पति, सपना र अहिलेसम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको बताउँदै भनेकी छन्’, ‘थाहा छैन हाम्रो चलचित्र हजुरहरूको आँखासम्म आउन पाउँछ कि पाउँदैन । थाहा छैन, प्रिय दर्शकको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन । सत्य बोलिरहँदा पनि, सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले न सुनिदिएपछि अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन र ? मैले मेरो फैसला मेरो भगवानको हातमा छोडिदिएको छु प्रिय दर्शक !!!! भगवान श्री कृष्ण !! हरे कृष्ण !!!!, उनले भनेकी छिन् ।