विवेकशील साझाको माग : चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाही गर्नु

काठमाडौं । विवेकशील साझा पार्टीले अस्पताल हाताभित्रै चिकित्सकमाथि भएको कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै वार्तामार्फत तत्काल समस्याको समाधान खोज्न पनि पार्टीले आन्दोलनरत पक्ष र नेपाल सरकारसँग अपिल गरेको छ ।

पार्टीका प्रवक्ता आशुतोष प्रधानले आइतवार एक विज्ञप्ति जारी गर्दै गत बुधवार हेटौँडास्थित एक अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पताल हातामै कुटपिट भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । ‘मानवीय सेवा क्षेत्र मानिने अस्पताल भित्रै अहोरात्र खटिने चिकित्सकहरूमाथि पटक–पटक आक्रमण हुनु तथा यसको शिलशिला निरन्तर बढोत्तरी हुनु बिडम्बना र चिन्ताको विषय भएको विवेकशील साझा पार्टीको बुझाई छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘निरन्तर हुने यस्ता घटना परि घटनाले रात दिन खटेर काम गर्ने चिकित्सकहरूको मनोबल कमजोर हुनेछ । फलस्वरुप विरामीहरूले प्रभावकारी उपचार पाउन कठिन हुने एवं दक्ष जनशक्ति विदेशिन बाध्य पार्न आगोमा घ्यू थपेझैँ भएको विवेकशील साझाको ठम्याई रहेको छ ।’

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा ग्यारेन्टी गर्न र दोषीहरूमाथि कडा कारवाही गरेर दण्ड हीनताको अन्त्य गर्न पार्टीले सरकारसँग माग गरेको छ ।

यस्तै, चिकित्सक कुटपिट प्रकरणविरुद्ध आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सकहरूको आन्दोलनप्रति पनि पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

‘स्वास्थ्य क्षेत्रजस्तो अति संवेदनशील सेवा बन्द गरेर चिकित्सकहरू नै आन्दोलनमा उत्रिँदा सर्वसाधारणको उपचार पाउने हक वञ्चित हुने र जनस्वास्थ्यमा गम्भीर असर पर्नेप्रति विवेकशील साझा पार्टी विशेष चिन्ता जाहेर गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालको सेवा नै बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग संवाद र वार्ताको माध्यमबाट तत्काल समस्या समाधानको प्रभावकारी पहल गर्न पार्टीले आग्रह गरेको छ ।