ऋषिपञ्चमी पर्व : ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत स्थलमा गई विधिपूर्वक दत्तिउन र गोबरले स्नान गरेपछि ऋषेश्वर मन्दिरमा गई पूजा लगाउने गर्छन् ।

टेकु र मूलपानीको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिर हुन् । जहाँ सनातनकालदेखि नै भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भीड लाग्ने गरेको छ ।

यस वर्ष आज बिहान सूर्योदयकालमा चौथी तिथि भए पनि मध्याह्नकालमा पञ्चमी तिथि लाग्ने भएकाले आजै ऋषिपञ्चमी पर्व मनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको थियो । आज नेपाली नारीले विधिपूर्वक स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा, आराधना गरेपछि तीज पर्व समापन हुन्छ ।