नेपालगञ्जमा कर्फ्यु केही खुकुलो : दिउँसो निषेधाज्ञा, राति कर्फ्यु

काठमाडौं । सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण नेपालगञ्जमा उत्पन्न भएको तनाव उग्र हुन नदिन बाँके प्रशासनले लगाएको कर्फ्यु केही खुकुलो बनाइएको छ।

नेपालगञ्जमा धार्मिक सद्भाव र सहिष्णुता बिथोल्ने गतिविधि भएपछि मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यु जारी भएकामा बिहीबारदेखि केही खुकुलो बनाइएको छ।

बिहीबारदेखि बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा कर्फ्यु हटाई निषेधाज्ञा जारी भएको छ। हिजो बेलुका ८ बजेदेखि आज बिहान ६ बजेसम्म भने कर्फ्यु जारी थियो।

बाँके प्रशासनले सूचना निकालेर आज बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ। आज बेलुका ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म पुनः कर्फ्यु जारी रहने सूचनामा उल्लेख छ।

स्थानीय प्रशासनले कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न, पोस्टरलगायत प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँ ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ।

राति ८ बजेपछि पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका चार किल्ला तोकी कर्फ्यु जारी गरिएको छ।