बंगलादेशलाई हराउँदै भारत एसियाली खेलकुदको फाइनलमा

xकाठमाडौं ।  बंगलादेशलाई ९ विकेटले हराउँदै भारत चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशले प्रस्तुत गरेको ९७ रनको न्यून लक्ष्य भारतले ९.२ ओभरमा मात्र एक विकेटको पछ्याएको हो ।

भारतको सुरुवात भने राम्रो भएन । यशस्वी जैस्वाललाई भारतले पहिलो ओभरमा नै शून्य रनमा गुमाएको थियो । तर, त्यसपछि रुतुराज गैकवाडले २६ बलमा ४० तथा तिलक वर्माले समान बलमा ५५ रनको इनिङ्स खेलेपछि भारतले ६४ बल अगावै लक्ष्य भेट्यायो ।

यसअघि शाई किशोरले ३ तथा वासिङ्टन सुन्दरले २ विकेट लिए पछि बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्र बनाएको थियो । बंगलादेशका लागि जाकल अलीले सर्वाधिक २४ तथा परभेज होसेन इमोनले २३ रनको योगदान दिए ।