इजरायलमा ज्यान गुमाएका नेपालीको शव ल्याउने प्रक्रिया थालियो, स्वदेश फर्किन इच्छुक नेपालीलाई पनि फिर्ता ल्याइने

काठमाडौं । प्यालेस्टिन लडाकु समूह हमासको आक्रमणपछि सरकारले इजरायलमा रहेका नेपालीहरु फिर्ताको प्रक्रिया थालेको छ। हमासको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल ल्याउन पनि प्रक्रिया थालिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय र तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको बताइएको छ।

हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्गमार्फत् आवत जावत सुचारु भइरहेको जानकारी समेत प्राप्त भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमपछि परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको थियो। उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको बताइएको छ।

परराष्ट्र मन्त्रालयले इजरायलमा अलपत्र परेका नेपालीहरुको सम्पर्कका लागि सम्पर्क व्यक्ति समेत तोकेको छ। इजरायलमा अलपत्र परेका व्यक्तिहरुले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकिएको हो।

इजरायलमा विकसित भएको पछिल्लो अवस्थाका कारण अलपत्र परेका तथा अन्य नेपाली नागरिकले स्वदेश फर्किन इच्छुक भएमा सम्पर्क राख्न पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।

सम्पर्क व्यक्ति (परराष्ट्र मन्त्रालय)
१. सेवा लम्साल, प्रवक्ता, प्ररराष्ट्र मन्त्रालय ९८५१३१०२२९
२. शरदराज आरण, सहसचिव, परराष्ट्र मन्त्रालय ९८४४४९५८५८
३. दुरपदा सापकोटा, उपसचिव, परराष्ट्र मन्त्रालय ९८४१४०३३६२
४. कृष्ण सिलवाल, शाखा अधिकृत, परराष्ट्र मन्त्रालय ९८४९१७९५२०

नेपाली राजदूतावास, तेल अबिब, इजरायल
१. कान्ता रिजाल, राजदूत  ०७२५४५८६४४२३
२. अर्जुन घिमिरे, प्रथम सचिव  ९७२५२८२८९३००