नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जान अग्रिम टिकट लिएका छन् ।

सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र  २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले जानकारी दिए ।

सोमबार अग्रिम टिकट लिन आइतबार रातिदेखि नै यात्रुहरू नयाँबसपार्कमा आएर लाइन लागेका थिए । नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन् । सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ ।

नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले यात्रुहरूको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिए । उनले काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए ।

यस्तै, विभिन्न प्रविधिको सहयोगमा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीको भनाइ थियो । प्रहरीले चाडबाडमा बढी भिडभाड हुने स्थानमा बढी वान क्यामेरा, गोप्रो क्यामेरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ ।