सेयर बजारमा पहिरो, १९ अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिन सकेको छैन । मंगलबार पनि नेप्से सूचक थप १९.०६ अंकले घट्दै १८ सयको रेन्जमा झरेको छ । यो साताको आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से सूचक ६७ अंक हाराहारीले घट्दै १८ सय ८९.५९ विन्दुमा झरेको हो ।

जसअनुसार आज १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ । हाइड्रोपावर समूहको उपसूचक आज सबैभन्दा बढी १.७९ प्रतिशतले घट्न पुगेको छ भने निर्जीवन बीमा समूहको उपसूचक १.६९ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.५८ प्रतिशतले, फाइनान्स समूहको १.३९ प्रतिशतले र जीवन बीमा समूहको उपसूचक १.०६ प्रतिशतले घटेको छ ।

अरु समूहका उपसूचक १ प्रतिशत कमले घटेका छन् । आज अपर लाहोरे खोला हाइड्रोपावरका सेयरधनीहरुले ५.८६ प्रतिशतले कमाएका छन् भने बाराही हाइड्रोपावर पब्लिक कम्पनीका सेयरधनीहरुले ७।६४ प्रतिशतले गुमाएका छन् ।