स्वास्थ्यमन्त्री भन्छन् : तलब खुवाउन नसकेपछि वीरका कर्मचारीलाई बिदा गर्‍यौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन् । उनले भने, “वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका २०० चानचुन कर्मचारीहरुलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ ।” चाँडै नै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने पनि उनले जानकारी गराए ।

यसअघि स्वास्थ्यमन्त्री बस्नेतकै निर्देशनमा वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई एकैपटक सेवाबाट हटाइएको थियो । जसको आलोचना हुनुका साथै कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए । पछिल्लोसमय वीरका ५०० बेडलाई बढाएर ९०० मा पुर्याइएको थियो भने अप्रेसन थियटरलाई ८ बाट १५ वटा, आईसीयू ३० बाट ६५ बेड पुर्याइएको थियो । यो कदमले स्वास्थ्य सेवा प्रभावित भएको बताइएको छ ।