सुन तस्करी प्रकरण : राहुल महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं । ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष राहुल महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश डन्डपाणी शर्माको इजलासले ९ किलो सुन तस्करीको आरोपमा पक्राउ परेका राहुललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

न्यायाधीश शर्माको इजलासले सुन तस्करीमा महरा संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउने आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । सुन तस्करीको आरोपमा राहुल १३ भदौमा काठमाडौंबाट पक्राउ परेका थिए ।

सुन तस्करी प्रकरणमै पक्राउ परेका लोकेन्द्र पौडेललाई भने पाँच लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको सूचना अधिकारी दाहालले बताए । यसअघि बुधबार सरकारी वकिलको कार्यालयले आपराधिक विश्वासघात ,भन्सार चोरी तथा संगठीत अपराध सम्बन्धी कसुरमा महरासहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले राहुलसँगै बेल्जियन नागरिक ३९ वर्षीय दावा छिरिङ, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका- ४, सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल र काठमाडौं महानगरपालिका-६, बौद्धका ५७ वर्षीय निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरिएका निमा भने अझै फरार छन् ।

१० पुसमा फ्लाइ दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र ९ किलो सुन बरामद भएको थियो । यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वसभामुख कृष्णबहादुर महराको बयान पनि लिएको थियो । तर, सीआईबीले पूर्वसभामुख महरालाई भने प्रतिवादी नबनाई सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।