इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ : जो बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन् । एक अन्तर्वार्तामा इजरायलको गाजा कब्जा नीतिलाई अमेरिकाले समर्थन गर्छ भनेर सोधिएको प्रश्नको जवाफमा अमेरिकी राष्ट्रपतिले भने, ‘ठूलो गल्ती हुनेछ ।’

बाइडेनले भने, ‘हमास र हमास चरमपन्थीहरूले सबै प्यालेस्टाइनी जनताको प्रतिनिधित्व गर्दैनन्, र मलाई लाग्छ कि इजरायलले गाजालाई पुनस् कब्जा गर्नु गल्ती हुनेछ ।’

आइतबार राति प्रसारित यस अन्तर्वार्तामा उनले भने, ‘यद्यपि, गाजाभित्र जानु र अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम हो ।’ उनले इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

बाइडेनले हमासबाट आफ्नो रक्षा गर्नु इजरायलको अधिकार र कर्तव्य रहेको कुरा बारम्बार दोहोर्‍याए । एक साताअघि उनले हमासको आक्रमणलाई दुष्ट कार्यु भनेका थिए ।

गत साता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि इजरायललाई आफ्नो समर्थन व्यक्त गर्न तेलअभिभ पुगेका थिए।

इजरायलले ११ लाख मानिसलाई उत्तरी गाजाबाट दक्षिणी गाजामा जान निर्देशन दिएको छ । इजरायली सेनाले गाजामा भीषण आक्रमण गर्न सक्ने अनुमान गरिएको छ ।