स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीले श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार नगद सहित २ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता नाम बताउने र कपिलबस्तु वाडगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई ल्याएको उक्त रुपैयाँ फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्यिकरण विभाग पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।