काठमाडौं । केही महिना अगाडि मात्र पशु सेवा विभागको महानिर्देशक बनेका डा उमेश दाहाल यतिखेर निकै चर्चामा आएका छन् । उनी राम्रो काम गरेर चर्चा भने आएका हैनन । कार्यालय समयमा पशु सेवा विभाग भित्रै विवादित पशुपन्छी औषधी आयातकर्ता एवं व्यापारी हेमराज बडालले महानिर्देशक डा उमेश दाहाललाई विवादमा तान्ने किसिमले कार्यकक्ष मै गएर केक काटेर जन्मदिन मनाईदिएका हुन् ।
पशु सेवा विभागमा नयाँ महानिर्देशकले जिम्मेवारी सम्हाल्ने वित्तिकै पशुपन्छी औषधी केही व्यवसायीहरुले महानिर्देशकलाई आफ्नो मुठ्ठीमा पार्ने गरेको विगतले पनि पुष्टि गर्दछ । बडाल पशुपन्छी औषधी व्यवसायी संघका पूर्व अध्यक्ष र कान्तिपुर भेट डिस्ट्रिव्यूटरका मालिक हुन् । त्यसैले उनले महानिर्देशकलाई प्रभावमा पार्न कार्यालयसमयमा नै जन्मदिन मनाउने पुगेको विभागका कार्यरत कर्मचारी बताउँछन् ।
कार्यालय समयमा नै कार्यकक्षमा पुगेर विवादित पशुपन्छी औषधी व्यवसायी हेमराज बडालले महानिर्देशकको जन्मदिन मनाएको विषयमा पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहाल भन्छन्,‘ व्यवसायी संघका तर्पmबाट भन्दै एक्कासी साथीहरु आउनु भो । मैले अन्यथा लिन सकिन । जन्मदिनको शुभकामना स्वीकार गरेको मात्र हुँ’ ।
विभागको महानिर्देशकलाई कार्यकक्षमा नै पुगेर घरमै जस्तै ‘वर्डथे’ मनाउने विषय सुशासनका हिसावले राम्रो भने होइन । सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आईरहनु भएको सुशासन विद् एव पूर्व सचिव काशीराज दाहालले पनि त्यसलाई नैतिकताको संकटको संज्ञा दिएका छन् । पूर्व सचिव दाहाल भन्छन्,‘कार्यालयसँग हुने व्यवसायिक काममा प्रत्यक्ष सरोकार भएका व्यापारीले कार्यकक्षमा गएर जन्मदिन मनाईदिनु दण्डनीय हो । यसले के प्रष्ट पार्दछ भने व्यापारी आफ्नो स्वार्थ पूरा गर्नका लागि कर्मचारीलाई प्रयोग गर्न खोजिरहेको देखिन्छ । त्यसकारण जुन व्यापारी हो जसले मनाईदियो उसैलाई कार्वाही हुनुपर्दछ ।
विभागको महानिर्देशकको कार्यकक्ष मै पुगेर जन्म दिन मनाईदिने पशुपन्छी औषधी व्यवसायी हेमराज बडाललाई किन त्यसो गर्नु भयो भन्ने प्रश्नमा महानिर्देशक आफ्नो परिवार भित्रको व्यक्ति भएकाले आफ्नो टिम नै गएको बताउँछन् ।
पशुपन्छी औषधी आयात तथा वितरकका रुपमा चिनिएका हेमराज बडाल निकै नै विवादित व्यक्तिका रुपमा चिनिन्छन् । राजनीतिक तथा प्रशासनिक पहुँचका आधारमा उनले पशुपन्छी औषधीका क्षेत्रमा निकै नै बदमासी गरेको देखिन्छ । केही महिना अघि मात्र लम्पी स्किन महामारीका समयमा लम्पी स्किन भ्याक्सिन आयात खरिदका क्रममा उनी विवादमा तानिकएका व्यक्ति हुन् ।बडालको पशुपन्छी औषधी आयात गर्ने कान्तिपुर भेट डिस्ट्रिव्यूटर्समा केही महिना अघि राजश्व अनुसन्धान विभागले छापामारी कागजपत्र अनुसन्धान समेत गरिरहेको छ । – विपिन शर्मा
Add Comment