कांग्रेसले सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने -संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगि जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्धेश्यले संसद बन्द गरेको आरोप लगाएका छन् । उनले यसबाट सरकार सहकारी पिडितको पक्षमा नरहेको पुष्टि भएको बताउदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन् ।

उनले लाखौँ सहकारी पिडितको अर्बौं बचत हिनामिना गरिएको बताउदै कांग्रेस पिडितको पक्षमा, सुशासनको पक्षमा दृढतापुर्वक उभिने बताएका थिए ।
कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । कांग्रेसले सरकारलाई संसदीय मूल्य मान्यताविरुद्ध काम नगर्न चेतावनी पनि दिएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा गर्दै यस्तो निर्णय गरेको हो । संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए ।
संघीय संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका थिए । सत्तापक्षकै कतिपय सांसदहरुले समेत विपक्षीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेसले यो विषयमा मन्त्री लामिछानेमाथि छानबिन माग गर्दै संसद अवरुद्ध समेत गरेको थियो । यही सन्दर्भमा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

त्यसबारे छलफल गर्न आइतबार बिहान संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बसेको थियो । सो बैठकले, सरकारले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्यासित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको ठहर गरेको छ ।
नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पार्दै संसदीय छानबिन समितिमात्रै माग गरेको बताएको छ । कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत् आफूहरुले अहिले गृहमन्त्रीको राजीनामा माग नगरेको स्पष्ट पार्दै संसदीय छानबिन चारवटा कारणले आवश्यक रहेको बताएका छन् । उनले छानबिन समितिमा कांग्रेस, एमाले, रास्वपालगायत सबै दलका प्रतिनिधि रहने बताउँदै यसमा आपत्ति जनाउन नपर्ने बताएका छन् ।