इलाममा कस्को पल्ला भारी ?

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको माहोल तातेको छ । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले चुनावी रणनीति बनाएर अभियान सुरु गरेका छन् । खड्काले अघिल्लो पटकभन्दा यसपालि चुनाव जित्न सहज भएको दाबी गरेका छन् । हालै नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताए । खड्काले भने, ‘अघिल्लोपटक राष्ट्रियरूपमा स्थापित एमाले नेता सुवासचन्द्र नेम्वाङसँग चुनाव लड्नुपर्दा माहोल फरक थियो । अहिले इलामको भूगोल, अवस्थिति र मतदाताको मनोविज्ञान राम्रोसँग नबुझेका कम अनुभवी युवाहरूसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्दा केही सहज भएको छ,’ उनले अगाडि भने, ‘यस पटक कांग्रेसलाई हार्ने छुट छैन । मेरो काँधमा पार्टीको भविष्य छ । त्यसैले सबै एकजुट भएर चुनावी अभियानमा सक्रिय बन्नुपर्छ ।’

खड्कालाई सभापति शेरबहादुर देउवाले दोस्रो पटक अवसर दिएका हुन् । गत २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खड्का एमाले उपाध्यक्ष नेम्बाङसँग झिनो मतान्तरले पराजित भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । यस पटक खड्काले चुनाव जित्न सहज भएको दाबी गर्नुको पछाडि थुप्रै आधारहरू कांग्रेसले प्रस्तुत गरेको छ । विशेषत मुख्य प्रतिस्पर्धी एमालेले राजनीतिमा अनुभव नै नभएका र वंशको राजनीतिबाट उदाएका सुहाङ नेम्बाङलाई इलामेली मतदाताले नचिनेकाले आफूलाई सहज महसुस भएको दाबी गरिरहेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू इलाम नबसेको डेढ दशक नाघिसकेकाले नयाँ उम्मेदवारलाई मतदाताले विश्वास नगर्ने खड्काले दाबी गर्दै आएका छन् ।
त्यस्तै, पहिचानवादीहरूका तर्फबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिम पहिले एमालेमै रहेर लामो राजनीति गरेका नेता भएकाले एमालेको सैद्धान्तिक धेरै मत थेगिङले काट्ने भएकाले डम्बरले सहज महसुस गरेका छन् । बहुसंख्यक आदिबासी जनजाति समुदाय बसोबास गर्ने चुलाचुली, माङ्सेबुङ, माई क्षेत्रमा रहेका जनजाति समुदायका मतदाताहरूमध्ये कांग्रेसको सैद्धान्तिक मत नबिग्रिएकाले खड्काले सहज ठानेका छन् ।

त्यस्तै, प्रतिस्पर्धामा रहेका राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राईबाट आफूलाई ठूलो असर नगर्ने उनको दाबी छ । कांग्रेसको मत कतै डाइभर्ट नभएकाले सैद्धान्तिक मत र केही एमालेको मत चोर्दा आफू सहजै विजयी हुने खड्काको अनुमान छ । माओवादी केन्द्रलगायतका केही दलहरू एमालेसँग गठबन्धन गरेको भए पनि माओवादी केन्द्र र एमालेभित्रै बढेको अन्तरद्वन्द्वको फाइदा कांग्रेसले लिने अनुमान सुरु भइसकेको छ ।
त्यतिमात्र होइन एमालेबाट उम्मेदवार बनाइएका सुहाङ राजनीतिमा उदाउँदा जिल्लामा दशकौंदेखि दुःख गरेका नेताहरूको राजनीतिक करियरमै धक्का लाग्ने भएकाले एमालेभित्र ठूलो ‘विद्रोह’को खतरा देखिएको कांग्रेसहरूले अनुमान गरेका छन् । त्यस्तै प्रतिस्पर्धी उम्मेदवार सबै आदिवासी जनजाति भएकालो खस आर्य समुदायको अधिकांश मत रुख चिह्नमा खस्ने साथै आदिवासी जनजातिको भोट बाँडिएर आफूतिर आउने खड्काले अनुमान गरेका छन् ।
कांग्रेसले असहज महसुस गरेको चुलाचुली, माई र माङसेबुङ नगरपालिकाको मत यसपालि बृहत् रूपमा बाँडिने भएको र कांग्रेसको मत नबिग्रेकाले खड्काले सहज महसुस गरेका छन् । रास्वपाका मिलन लिम्बूले दल परिवर्तन गरेकाले ‘अवसरवादी’को आरोप खेपिरहेको साथै रास्वपाका केन्द्रीय नेताहरू सहकारी काण्ड र भ्रष्टाचारमा मुछिएकाले तल्लो स्तरका जनतामा नकारात्मक सन्देश प्रवाह भइसकेकाले कांग्रेसले सहज परिणाम निकाल्ने अनुमान गरेको छ । विशेषगरी यसपालि धेरै संख्यामा उम्मेदवार, सबै जनजाति उम्मेदवार भएकाले आफ्नो सैद्धान्तिक मतले नै पनि कांग्रेसले राम्रो परिणाम निकाल्ने अनुमान गरिएको छ ।
निर्माण व्यवसायसँगै समाजसेवा र राजनीतिलाई अघि बढाएका खड्काले ‘दिलदार समाजसेवी’को उपमा समेत पाएका छन् । उनले पछिल्लो दशक व्यक्तिगत रूपमा चार करोडभन्दा बढी इलामेली जनताका नाममा समर्पित गरिसकेको दाबी गरिरहेका छन् । मेला, महोत्सव, खेलकुद प्रतियोगिता, पुराण, महायज्ञ, सडक निर्माण, मठमन्दिरलाई सहयोग, दुःखी, बिरामी, असहाय र विपत्तिमा परेकाहरूलाई गरेको राहत खड्काका लागि सम्पत्तिका रूपमा हेरिएको छ ।
‘मैंले स्कुल, संघसंस्था, धार्मिक मठमन्दिरबाट समाजसेवा गरेबापत् दर्जनौं सम्मान पाइसकेको छु । गरिब, दुःखी, बिरामी, प्राकृतिक प्रकोपका बेलामा, कोरोनाको बेलामा त्यहाँका नागरिकलाई र त्यहाँबाट यहाँ काठमाडौँ आएकालाई घरैसम्म पु¥याइदिएको छु । अघिल्लो पटकको चुनावपछाडि म जनतासँगै निरन्तर जोडिएको छु,’ खड्काले भनेका छन् । यस पटक त्यसको सबै मूल्यांकन हुने उनको दाबी छ ।

जनतासँग गठबन्धन गरेको बताउँदै आएका खड्काले राजनीतिक गठबन्धनसँग डर नमानेको र निरन्तर मतदातासँग जोडिएर काम गरेकाले जित निकाल्न सक्ने आधार प्रस्तुत गरेका छन् । ‘मेरो गठबन्धन जनतासँग हो । विकास निर्माणसँग हो । र, इलाममा विकास निर्माण नपाएका जनतासँग मेरो गठबन्धन हुन्छ । निरन्तर रूपमा मैंले जसलाई अप्ठेरो पर्छ त्यसबेला सहयोग गरेका ती व्यक्तिहरूसँग मेरो गठबन्धन हो । इलामे माटोमा भिजेको, त्यो बाटोघाटो चिनेको, छरछिमेक चिनेको र काम गर्न सक्ने र जनतालाई आवश्यक परेको बेलामा सेवासुविधा र साथ दिन सक्ने उम्मेदवार म मात्र छु, उनले भनेका छन् । खड्काले पहिचान भनेको सभ्यता भएकाले त्यसको संरक्षण कांग्रेसले मात्र गर्न सक्ने दाबी गरेका छन् ।