प्रतिपक्षी दल जिम्मेवार नभएको कानून मन्त्री गिरीको आरोप

जेठ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस जिम्मेवार भएर आउनुपर्ने बताएका छन् । पर्वतमा आयोजिनत एक कार्यक्रममा मन्त्री गिरीले प्रतिपक्षी दल जिम्मेवार नबन्दा आगामी वर्षको बजेट प्रभावित हुने भन्दै सहमतीमा आउन समेत आग्रह गरे । ‘‘प्रतिपक्षी दल रचनात्मक बनेर सहयोग गर्नुपर्नेमा संसद अवरुद्ध गरेर बजेट प्रभावित बनाउन खोेजेको छ ।’’ मन्त्री गिरीले भने , ‘‘एक जना व्यक्तिको पछि लागेर संसद अवरुद्ध गर्नु लोकतान्त्रिक दलको मूल्य मान्यता भन्दा बाहिर गएको जस्तो देखिएको छ ।’’

उनले शनिबार सबै दलहरुले सहमति गरेर जेठ १५ गते संसदबाटै बजेट आउनेमा विश्वास व्यक्त गरे । शीर्ष नेताहरुबिच केही सहमति भइसकेकाले छिट्टै समस्या समाधान हुने उनको भनाइ छ । ‘‘अधिकांश विषयमा कुरा मिलिसकेको छ’’ उनले भने, ‘‘व्यक्ति उल्लेख गरेर जाने कुराले समस्या ल्याउने भएकाले त्यसमा समझदारी हुन नसकेको हो ।’’

मन्त्री गिरीले प्रतिपक्षी दल नेपाली कांग्रेस सहमतिमा आए भोलीको संसद बैठक अघिनै सहमति गराएर संसदवाट नीति तथा कार्यक्रम माथिको छलफल पारित गरिने बताए । प्रधानमन्त्रीले बालुवाटारमा गरेको छलफलले सकारात्मक भएकाले छिट्टै सहमति हुने उनको भनाइ छ ।

ताजा अपडेट