चन्द्र ढकालको खेल पाथीभरा केवलकारमा किन भएन मेल ?

काठमाडौँ । नेपाल उद्योेग बाणिज्य महासंघको अध्यक्ष समेत रहेका ग्लोवल आईएमई बैकका मुख्य साहु चन्द्र ढकालका कारण अहिले ताप्लेजुङ्ग तनावमा छ । चन्द्र ढकालले विना प्रतिष्पर्धा देशभरीका डाँडाकाँडामा केवलकार बिस्तार गर्न लागेका छन् । सत्ता शक्ति र पैसाको आडमा राजनीतिक दलका नेता तथा प्रशासकहरुलाई आफ्नो मुठ्ठीमा पारिरहेका चन्द्र ढकालले निर्माण गर्न थालेको पाथीभरा केवलकारको स्थानीयले लामो समयदेखि बिरोध गर्दै आइरहेका छन् ।

ढकालको लगानी रहेको ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकारको बिरोधमा उत्रिएका स्थानीय समुदायले बुधबार र बिहीबार दुई दिने यातायात बन्दको आह्वान गरेका छन् । आफ्नो माग विपरीत क्रियाकलाप सुरु गरिएको भन्दै सङ्घर्षरत समूहले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हुन् ।

ताप्लेजुङमा बिरोधको स्वर सुनिएपछि मंगलबार दिउँसो उद्योग बाणिज्य महासंघको दलबल सहित वन तथा वातावरण मन्त्रालयका पुगेका ढकालले वन मन्त्री र वन सचिवलाई भेटेर सहयोगको अपिल गरेका छन् । ढकालले महासंघका अध्यक्षको पदलाई दुरुपयोग गर्दै केही दिन अघि मात्र वन मन्त्रालयको सचिवमा सरुवा भएर गएका डा. गोबिन्द शर्मालाई दवाव दिन थालेका छन्। सचिव शर्मालाई पाथीभरा केवलकारका विषयमा ढकालले मंगलबार बेलिबिस्तार लगाएका छन् । अघिल्ला मन्त्री बिरेन्द्रप्रसाद महतोबाट केवलकारको अधिकांश काम फुत्काउन सफल ढकालले वर्तमान मन्त्री नवलकिशोर साह सुडीलाई अध्यक्ष ढकालले दर्जन पटक भेटिसकेका छन् ।

स्थानीय जनताको माग र भावना विपरीत केबलकार निर्माण गर्न लागिएको भन्दै सुरुदेखि नै ढकालको केवलकार आयोजना विरुद्ध सङ्घर्ष समिति निर्माण गरि बिरोधका कार्यक्रम हुँदै आएका छन् । सोमबारबाट केवलकार बन्ने स्थानतिर रुख कटान सुरु भएपछि सङ्घर्षरत समूह थप आन्दोलित बनेको र सो समूहले दुई दिने यातायात बन्दको आह्वान गरेको हो ।

स्थानीय मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिसहित छ समूहले मङ्गलबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै यातायात बन्दको आह्वान गरेका छन् । अध्यक्ष ढकालले शक्तिको आडमा स्थानीय बासिन्दाको आवाज नसुन्ने र बलमिच्याई गर्न थालेपछि यहाँका सबै स्थानीय समुदाय रुष्ट बनेका छन । हाल बन्द आह्वान गर्ने अन्य समूहमा पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किराँच याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बू थरगत संस्था ९याक्थुङ सयङ०, पहिचानसहितको प्रदेश नं १ पुनः नामाङ्कन समिति तथा किराँत धर्म तथा साहित्य उत्थान सङ्घ र मुक्कुमलुङ तान्सेःप चुम्भो लगायतका दर्जन भन्दा बढी संघ, संस्था रहेका छन् ।

ऐतिहासिक पवित्र धार्मिकस्थलको संरक्षण गर्न आन्दोलन गर्दै आएका समुहले आफ्ना धार्मिक, सांस्कृतिक अधिकार शक्तिको आडमा खोस्न खोजिएको आरोप लगाएका छन् । अर्कातिर यहाँका जैविक विविधता मासेर एउटा व्यापारीको खल्ती पोस्ने काम सरकारी कर्मचारीले गर्न खोजेको पनि आरोप लगाएका छन् ।

सोमबार बिहानबाट रुख कटान गर्न सुरु भएपछि सङ्घर्षरत समूहका सयौँ कार्यकर्ता अहिले पाथीभरा क्षेत्रमा परिचालित भएका छन् । रुख कटान गर्ने मजदुर र संघर्षरत कार्यकर्ताका बीच मुडभेड हुने सम्भावना पनि रहेको छ ।