सर्प पाल्ने पूर्व प्रधानमन्त्री झलनाथ खनालको संस्थामा १७ करोड भ्रष्टाचार

काठमाडौं । शक्तिको आडमा राज्य कोषबाट सर्प पाल्ने अनुदान लिएको भन्दै पटक पटक विवादमा आएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल र उनको संस्थामा १७ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतको ठहर छ । विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको झलनाथ स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा स्थापित सर्पदंश उपचार केन्द्रमा भ्रष्टाचार भएको ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार मधेस प्रदेशका तत्कालीन मन्त्री विजय कुमारसहित ५ जनालाई दोषी ठहर गरेको हो । विजयकुमार मधेस प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री हुन् ।

त्यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् । लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् । दोषी ठहर भएका ५ जनालाई सजाय निर्धारणका लागि असार २५ गतेका लागि पेसी तोकिएको छ ।

सामाजिक संस्था भनि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यो कम्पनीमा राज्यकोषबाट रकम लिएर अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्व अर्थमन्त्रीसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियारले उनीहरुविरुद्ध सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी, दुरुपयोग गरेको देखिएकाले कैद र जरिवाना गरी हानिनोक्सानी, दुरुपयोग भएको १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरेको हो।