बुङमति लगेरसँगै सकियो यो वर्षको रातो मच्छिन्द्रनाथको जात्रा

ललितपुर । वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ ।

वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरू भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा आज जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो ।

हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने प्रचलन छ ।

बाह्र वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने प्रचलन भए पनि अन्य वर्षहरूमा मूर्तिलाई रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगिने गरेको पुजारी साहु शाक्यले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीलगायत शीर्ष व्यक्तिहरूले अवलोकन गरेको जात्रामा गुठी संस्थानका कर्मचारीहरूले भोटो देखाएका थिए । जावलाखेलमा भोटो देखाएपछि यो वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ । रातो मच्छिन्द्रनाथको रथ जात्रा काठमाडौँ उपत्यकाकै लामो जात्रा हो ।