कुलमानलाई हटाउने योजना नरहेको ऊर्जामन्त्री खड्काको भनाई

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छ । पार्टीको कार्यक्रममा बाह्रविसे पुगेका खड्काले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गरे।

मन्त्री खड्काले सबै नागरिक सम्पन्न हुँदा मात्र देश समृद्धि हुने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक रहेकाले यसको विकासका लागि स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री खड्काले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् विदेशी मुलुकमा निर्यात गर्ने सरकारको लक्ष्य रहेकाले यसलाई पूरा गर्न सरकार गम्भीर भएर लागेको समेत बताए ।

सरकारले हाल भारतमा मात्र नौ सय ४१ मेगावाट विद्युत् निर्यात गरिरहेको भन्नुहुँदै चाँडै नै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी आश्वयक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।