अमेरिकन प्रतिनिधिसँग निरिह बन्दै कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषिमन्त्री रामनाथ अधिकारी कृषि क्षेत्रको विकास गरिदिन भन्दै नेपाल स्थित अमेरिकी दूतावासका प्रतिनिधिहरुसँग निरिह बनेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा मन्त्री भेट्न पुगेका दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोसँग मन्त्री अधिकारीले कृषि विकासका लागि आर्थिक सहयोग गरिदिन भन्दै हारगुहार गरेका हुन् ।

सन् १९५० को दशकदेखि नेपालको आर्थिक विकासमा दूतावासले अमेरिकन सहयोग नियोगमार्फत नेपाललाई अनुदान सहयोग गर्दै आइरहेको छ । अहिले पनि सो नियोगमार्फत कृषि क्षेत्रमा अरबौको अनुदान वितरण गरिरहेको छ । तर सो अनुदानले कृषिको विकास भने हुन सकेको छैन ।

सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, कृषि अनुसन्धानलाई बढावा दिने, कृषि पूर्वाधारको विकासलाई तीव्रता दिने, उत्पादित कृषि उपजको आन्तरिक एवं बाह्य बजारमा सहज पहुँच पु¥याउने, नेपालको भौगोलिक क्षेत्र विशेष कृषि उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरी कृषि पर्यटनसमेतको सम्भावनालाई साकार पार्ने योजना अघि बढाएको भन्दै मन्त्री अधिकारीले दुतावासका प्रतिनिधिसँग थप रकम सहयोग मागेको बुझिएको छ ।

अमेरिकाले विभिन्न दातृ निकायमार्फत कृषिमा सहयोग गर्दै आएको दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोनले मन्त्री अधिकारीलाई जानकारी गराउँदै त्यसलाई निरन्तरता दिने आश्वासन दिएको मन्त्रालय स्रोतले बताएको छ । त्यस्तै युएसएआइडी मिसन डाइरेक्टरले कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको मन्त्री अधिकारीलाई बताए ।

अमेरिकन सहयोग नियोगमार्फत नेपालमा सञ्चालनमा रहेका अधिकांश कृषिका परियोजनाहरु सफल हुन सकेका छैनन् । नेपाली किसानका नाममा आएको अनुदान सहयोग नियोगकै परामर्शदाताहरुले लाखौंको तलब भत्ता लिने गरेका छन् । यति जान्दा जान्दै पनि कृषि मन्त्री अधिकारीले अमेरिकन प्रतिनिधिसँग आफ्नो निरिहता प्रकट गरेका छन् ।