चोरी भएकको बाह्रौं शताब्दीको मूर्ति अमेरिकाले नेपाललाई फिर्ता दियो

अमेरिका ।  शुक्रबार नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा एफबीआईका डेप्युटी एसिस्टेन्ट डाइरेक्टर टिमाेथी एन. दुहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेका छन्।  सन् १९८४ मा पाटनबाट चोरी गरी अमेरिका पुर्‍याइएको मूर्तिलाई अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) र कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालयको लामो अनुसन्धानपछि नेपाल फर्काउन लागिएको हो।

नेपालस्थित अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) र डल्लास म्युजियम अफ आर्टको लामो संयुक्त अनुसन्धानले मूर्ति फिर्ता ल्याउन सम्भव भएकाे हाे।

वासुदेव-कमलाजा भनिने लक्ष्मी-नारायणको उक्त काँस्य मूर्ति १२औँ र १५औँ शताब्दीबीचको पुरातात्विक सम्पदा हो। सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको थियो। नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ।

 

लक्ष्मी–नारायण मूर्ति फिर्ता ल्याउने खर्च ललितपुर महानगरपालिकाले व्यहोर्ने
पाटनबाट ३७ वर्षअघि चोरिएको र एक वर्षअघि अमेरिकाको ‘डल्लास म्युजियम अफ आर्ट’मा भेटिएको लक्ष्मी–नारायण (वासुदेव–कमलाजा) मूर्ति फिर्ता ल्याउन लाग्ने खर्च…
आइतबार, १६ फागुन, २०७७
हराएको ६ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्ति पछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो। एक परियोजनाका लागि नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले इमेज सर्च (तस्वीर खोजी)का माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला पारेका थिए। त्यसपछि, उक्त मूर्ति फिर्ताका लागि प्रकृया शुरु भएको थियो।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले लक्ष्मी-नारायणको मूर्ति नेपालीको हात फिर्ता भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन्। एक विज्ञप्ति जारी गर्दै राजदूत बेरीले भने, “नेपाली संस्कृति, धर्म र इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने अन्य वस्तुहरूलाई पनि नेपाल फर्काउन अमेरिकाले नेपालसँग सहकार्य गर्नेछ। अन्य सरकार, संग्रहालय र संकलकहरुले पनि त्यसै गर्नेछन् भन्ने मलाई आशा छ।”

चोरी भएका पुरातात्विक सम्पदालाई कानून कार्यान्वयन गर्ने निकायसँगको सहकार्य र कूटनीतिक प्रयासमार्फत फिर्ता गराई नेपालमा सांस्कृतिक संरक्षणमा सहयोग गर्ने पक्षमा अमेरिका रहेको पनि राजदूत बेरीले जनाएका छन्। अमेरिकी सरकारले नेपाललाई सांस्कृतिक सम्पदाको संरक्षणका लागि विभिन्न सहयोग गर्दै आएको छ।

सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) नामक अमेरिकी सरकारको कार्यक्रमले सांस्कृतिक सम्पदाको संरक्षणार्थ प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँछ। यसै कार्यक्रमअन्तर्गत, काठमाडौँको गद्दी बैठक जीर्णोद्धार लगायत २५ वटा परियोजना सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकाले सन् २००३ यता सांस्कृतिक संरक्षणका यी परियोजनामा ३८ लाख अमेरिकी डलर (करीब रु. ४५ करोड) भन्दा बढी रकम सहयोग गरेको छ। युवा पुस्तामा मूर्तिकलाको ज्ञान स्थानान्तरण गर्न तालिम तथा नेपाल र अमेरिकाबीच ज्ञान र अनुभव साटासाट गराउनका लागि कलाकार, क्युरेटर, संग्रहालय निर्देशक र कला प्राज्ञका लागि सांस्कृतिक आदानप्रदानको अवसर पनि अमेरिकाले उपलब्ध गराउँदै आएको छ।