भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी

काठमाडौं । चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो ।

विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमै राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापाले बताए । “नर्सरीका विद्यार्थीलाई चौरमा नै राखेर पढाएका छौँ”, उहाँले भन्नुभयो, “कोठा नै पुग्दैन, भुइँमा राख्न बाध्य छौँ ।” विसं २०२४ मा बनाइएको विद्यालय भवन जीर्ण भइसकेको छ । “भवनको छतबाट प्लास्टर उप्किएको छ । कक्षाकोठाका भित्ता चिराचिरा परेका छन् । शिक्षक वा विद्यार्थी को–को घाइते हुने हुन् भनेर सधैँ मनमा त्रास भइरहन्छ”, प्रअ थापाले भने ।