महामारीमा आमाको निरोगिताको लागि यसो गरौं

आज मातार्तीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन हो । विश्वले मदर्स डेकोरुपमा गएको तीनदिनअघि मनाए पनि नेपाली हिन्दुहरु आजको दिनलाई मातातीर्थ नामको पवित्र औंशीकोरुपमा आमा खुवाउने औंशीको रुपमा मनाउँछन् । यो मातृदिवसको रुपमा पनि नेपालमा परिचित छ । आमाले एउटा बच्चालाई हरेक कुरामा योग्य हुन धेरै किसिमका कष्ट उठाएकी हुन्छिन् । हाम्रो समाजले मातृदेवो भवको उदार हृदयलाई आत्मसात गरेको कुरा हामी बिर्सन सक्दैनौं । मातृदेवो भवको अर्थ आमालाई देवतसरह मान भनिएको हो । यसबेला नेपाल कोरोनाले आक्रान्त भएको छ । आजको दिन आमालाई खुशी बनाउन घरमा मेवा मिष्ठान्न तयार गर्ने तथा विवाहित महिलाहरु आमालाई सम्झेर आफ्नो माइती घर जाने पनि गर्ने चलन छ ।

 

तर, यो कोरोनाको महामारीमा टाढाबाट अवत जावत गर्दा स्वस्थ रहेको आमालाई कोरोना कोसेली पनि हुनसक्ने भएकोले जहाँ हुनुहुन्छ त्यहीँबाट आमालाई सम्झने, फोन गर्ने भिडियो कलबाट कुरा गरेर खुशी साट्नु नै उत्तम हुन्छ । यो समय आमालाई माया देखाउन तपाईं टाढाबाट हठपूर्वक आमासँग भेट गर्न जानुभयो भने तपाईंको जीवनदायिनी ममतामयी आमालाई कोरोना कोसेली हुनसक्छ । तसर्थ आमा टाढा हुनुहुन्छ भने तपाईंले आफू जहाँ हुनुहुन्छ त्यहीँबाट सम्झनु नै आमाको लागि लाभदायक हुन जान्छ । यसमा सचेत हुनुभयो भने तपाईंले आफ्नो आमालाई सच्चा माया गरेको ठहर्छ ।

 

मातृशक्तिको महिमा यसै पनि अपरम्पार छ । उनीहरुलाई तपाईंले दिने धेरै धन र सम्पत्तिको तुलना मीठो मुस्कान र आत्मीयता प्यारो लाग्छ । यो नै आमाहरुको विशेष गुण हो । यसै पनि एकदिन देखाउने भरपूर मायाको तुलनामा हरेक दिनको केयरले आमाहरु खुशी हुन्छन् । यो कुरालाई हामीलो भुल्न हुँदैन । तपाईंको मुस्कान, खुशी, उन्नति सबैमा आमाको आशीर्वाद रहन्छ । तसर्थ आमाको लामो आयु र निरोगिताको लागि तपाईं टाढा हुनुहुन्छ भने आफू बसेको ठाउँबाट नै पार्थना गर्नु उचित होला ।

कुनै सहृदयी विद्वानले आमाको निम्ति लेखेका यी पंक्ति पढेर आमाको हजारौ दुख र संघर्षको मनन नै कोरोना महामारीमा आमाको सच्चा सम्मान हुने छ । पढौं…
आमाको त्याग, तपस्या, समर्पण र उपकारबाट नै आज हामी यो रूपमा खडा भएका छौं । एउटी आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमालाई दिने केही पनि छैन । जीवनभर जति सेवा गरे पनि आमाको अभिभारा चुक्ता गर्न सकिँदैन । आमा धरती हुन्, हामी उनका साना सन्तान मात्र हौं । त्यसैले हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेह पूर्वकले हेर्छौं, कर्तव्यले पाउ ढोग्छौं र श्रद्धाले खाना ख्वाउँछौं ।

सम्पूर्ण आमाहरूको निरोगिताको मंगलकामना गर्दछाैं । ईकालाेपाटी परिवार ।