धनी मुलुकका बालबालिकालाई खाेप लगाउने काम राेकिदिन डब्लुएचओकाे अपिल

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  विश्वका धनी देशहरुसँग केही समय  बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना राेकिदिन भनेकाे छ । याे याेजना तत्कालका लागि पछि सोरेर गरिब देशहरुलाई  खाेप दिन सहयोग गर्नु उचित हुने कुरा डब्लुएचओले बताएकाे हाे ।  धनी मुलुकहरूलाई  विश्वका गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको स्वास्थ्य संगठनले स्मरण गराएकाे छ । यस्ताे अवस्थामा महामारी नियन्त्रणमा लिने प्रयोजनका लागि धनी देशहरुले सहयोग स्वरुप खोप उपलब्ध गराउनु पर्ने डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले जनाएका हुन् ।

 

डा. टेडरोजले शुक्रबार बताए अनुसार  खाेपको समानुपातिक पहुँचका लागि थालिएको कोभ्याक्स अभियानमा धनी देशहरुले खोपको थप मात्रा प्रदान गर्नु उचित हुन्छ । विश्वव्यापी रुपमा कोरोना भाइरस विरुद्धको खोपको वितरण गम्भीर रुपमा असमान रहँदै आएको छ । धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई पनि खोप लगाउने तयारी गरेका छन् । तर गरिब देशहरुमा भने अग्रपंक्तिमा खटिएका तथा अति जोखिमको वर्गमा रहेकाहरुले नै खोप लगाउन पाएका छैनन् । गएको डिसेम्बरमा खोप लगाउन थालिएयता विश्वमा उत्पादन भएका खोपहरुको अधिकांश मात्रा धनी देशले किनेका कारण पनि गरिब मुलुक खाेपकाे चपेटामा रहेका छन् ।