‘सरकारले कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन पहल गराेस् ’

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले स्वास्थ्य संकटकाल लगाएर अक्सिजनलगायतका अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न माग गरेकी छन् । आज एक विज्ञप्‍ति जारी गर्दै संग्रौलाले देशभर नै स्वास्थ्य संकटकाल लगाएर अक्सिजनलगायतका अत्यावश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्न, कूटनीतिक नियोगहरूलाई परिचालन गरी अन्तर्राष्ट्रिय सहायता जुटाउन र जनताको जीवन जोगाउन आवश्यक सबै कदमहरू उठाउन माग गरेकी हुन् ।

 

उनले राष्ट्रिय संकटको यो बेलामा राष्ट्रिय संकल्प आवश्यक पर्ने भएकाले तत्काल संसद अधिवेशन आह्वान गर्न पनि माग गरेकी छन् । ‘अल्पमतमा परेको केपी शर्मा ओलीको सरकारले संसदमा सबैभन्दा ठूलो दलको रुपमा फेरि शपथ लिँदै गर्दा देशभरि दोस्रो लहरमा कोभिड १९ झन् संक्रामक र घातक भएर आएको छ। केही जिल्लाहरूबाहेक देशैभरि ‘निषेधाज्ञा’ जारी भएको अवस्था छ । दिनहुँ संक्रमितको संख्या हजारौं पुगेको छ भने मृत्युको संख्याले ३ अंक छोइसकेको छ’ जारी विज्ञप्‍तिमा लेखिएको छ ‘जनस्वास्थ्य विज्ञको सुझावलाई मनन गर्ने हो भने अहिले जुन हिसाबमा कोभिड-१९ को प्रसार भइरहेको छ त्यो प्रसारको दर कम गर्ने सबैभन्दा प्रभावकारी उपाय लकडाउन नै हो । तर विगतको लकडाउनको बेलाको हाम्रो आफ्नै अनुभव र विश्वव्यापी अनुभव के हो भने लकडाउनको नकारात्मक प्रभाव गरिब र असहाय वर्गलाई सबैभन्दा बढी पर्दछ ।’

 

 

उनले सरकार यो दिशामा गत वर्ष पनि चुकेको थियो र अहिले पनि उदासीन देखिएको आरोप लगाएकी छन् । सरकार कोभिडबाट आम नागरिकलाई राहत दिने र विरामीलाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने दिशामा पूर्णतया असफल देखिएको विज्ञप्‍तिमा लेखेकी छन्- ‘नेपालको संविधान २०७२ ले हरेक नागरिकको सुरक्षित र सहज जीवन प्रत्याभूत गरेको छ । अहिलेको प्रमुख आवश्यकता भनेको जनताको जिउज्यान जोगाउनुसँगै सबैले खान र बाँच्‍न पाउनुपर्ने कुराको सुनिश्चितता गर्नु हो । तर यो सबका लागि सरकारले ध्यान दिनै सकेको छैन’ जारी विज्ञप्‍तिमा उल्लेख छ ‘सरकारले यो महामारीलाई प्राथमिकतामा राख्‍ने र गम्भीरताका साथ महामारी नियन्त्रणका उपायमा अघि बढ्नेबारेमा सोचेकै छैन । महमारीको यो दोस्रो लहरले देशमा पूरै अस्तव्यवस्तता ल्याइसकेको छ । अहिले सबैभन्दा गहिरो सकंट त अक्सिजनको अभाव हो । जसको मूल्य हामीले दिनहुँ सर्वसाधारण नागरिकको ज्यान दिएर चुकाउनु परिरहेको छ। यो अवस्था भनेको हामीले अझै जनधनको ठूलो मूल्य चुकाउनुपर्ने निश्चित छ ।’