नुवाकोटमा दुई कोरोना संक्रमितको मृत्यु

त्रिशूली  । त्रिशूली अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको पनि निधन भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आज ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै आज नै किस्पाङ गाउँपालिका ५ का ३३ वर्षीय एक पुरुषको अस्पतालमा ज्यान गएको छ ।

शनिबार अस्पताल भर्ना भएका ती युवकको स्वास्थ्यमा जटिलता थपिए पनि सघन उपचार कक्ष खाली नभएका कारण थप उपचार गर्न नसकी निधन भएको हाे ।

नुवाकोटमा शनिबार २०३ जनाको परीक्षण गर्दा ८२ संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।