भारतमा बालुवाले पुरेर छाडिएका संक्रमितका शवकाे अनुसन्धान गरिँदै

भारत ।  भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो । जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन् ।

प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, “हामी तपाइँलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौं ।” शुक्रबार, वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गङ्गा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो । उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन गरेका थिए । समाचारमा कोभिड–१९ का कारण मृत्यु भएका एक हजारभन्दा बढी शव विगत दुई सातामा गङ्गा नदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो ।  विगत २४ घण्टामा भारतमा चार हजार ७७ जनाको कोभिडको संक्रमणकै कारण मृत्यु भएको छ । योसहित भारतमा कूल मृतकको संख्या दुई लाख ७० हजार २८४ पुगेको छ । कतिपय विज्ञहरुले यो संख्याभन्दा अझ बढी व्यक्तिको मृत्यु भएको दाबी गरेका छन् ।