इजरायली हमलामा एकैदिन ४२ प्यालेस्टाइनी नागरिकको मृत्यु

एजेन्सी ।  इजरायलको हवाई आक्रमण अझै पनि जारी छ । हवाई आक्रमणमा  एकैदिन ४२ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। गाजास्थित प्यालेस्टिनी अधिकारीहरूका अनुसार एक साताअगाडि इजरायलसँग लडाइँ सुरु भएयता आइतबार सबैभन्दा घातक दिन रह्यो। इजरालको आक्रमणमा १६ महिला र १० बालबालिकासहित ४२ को मृत्यु भएको बीबीसीले जनाएको छ। यससँगै हालसम्म प्यालेस्टाइनको गाजामा कुल १९७ जनाको ज्यान गएको छ जसमा ५८ बालबालिका तथा ३४ महिला छन्।

बाह्र सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन्। यस्तै इजरायलतर्फ पनि १० भन्दा बढीको ज्यान गएको छ। इजरायली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गएको एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन्। यसबीचमा गाजास्थित प्यालेस्टिनी हमास लडाकुहरूविरुद्ध इजरेलको सैनिक कारबाही ‘पूर्ण शक्ति’का साथ जारी रहने इजरेली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले बताएका छन्। याे तनाव मुक्तिकाे लागि विश्वका ठूला देशहरूले पहल गरिरहे पनि हल हुन सकेकाे छैन ।