कांग्रेसले देशैभरिका पार्टी कार्यालय संक्रमितको उपचार कक्ष बनाउन दिने

काठमाडाैं । नेपाली कांग्रेसले देशैभरिका आफ्ना पार्टी कार्यालय भवन कोरोना संक्रमितको उपचार कक्ष बनाउने प्रयोजनका लागि दिने भएको छ । मंगलबार जिल्ला सभापतिहरुको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।  कांग्रेसका ४० भन्दा बढी जिल्ला सभापति सम्मिलित बैठकले पार्टी कार्यालयका भवन कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टरका रुपमा उपलब्ध गराउने निर्णय गरेको हो ।

जिल्ला सभापतिहरूको बैठकले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।  सरकारले अपेक्षित रुपमा काम गर्न नसकेको भन्दै कांग्रेसले त्यसका लागि कांग्रेसका तर्फबाट छुट्टै कोष खडा गरी संक्रमितको उपचार र राहतको व्यवस्था गर्न पनि माग गरिएको छ । यसअघि पनि कतिपय जिल्लाका कांग्रेस कार्यालयहरू काेराेना उपचार प्रयाेजनकाे लागि कांग्रेसले दिइसकेको छ ।