‘प्रधानमन्त्रीले हठात् सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई नयाँ प्रधानमन्त्री आह्वान गर्ने ?’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले हठात् सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई नयाँ प्रधानमन्त्री आह्वान गर्ने ? भनी प्रश्न गरेका छन् । उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको पनि जिकीर गरेका छन् । शनिबार एक विज्ञप्ति निकाल्दै सभापति देउवाले राष्ट्रपतिले आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेकामा पनि असन्तुष्टिसमेत  जनाएका छन् । यस्तो अलाेकतान्त्रिक तरिकालाई उनले भर्त्सनासमेत गरेका छन् ।

देउवाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन् । यी काम राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ ।’

देउवाले ओली सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्- ‘स्पष्ट बहुमत सहित १४९ जना माननीय सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरे । नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नु भयो ।’