यास चक्रवातको प्रभाव नेपालमा पनि, सजग रहन आग्रह

काठमाडाैं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली चक्रवातमा परिणत भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिस्तारै त्यसको असर नेपालमा पनि देखिने भएकाले मौसमप्रति सजग रहन महाशाखाले सबैलाई आग्रह गरेको छ । सोमबार दिउँसो ३ बजेविशेष मौसम बुलेटिन–३जारी गर्दै महाशाखाले पूर्वीमध्य बंगालको खाडीमा बनेको चक्रवात (यास) उत्तर–उत्तरपश्चिम सर्ने क्रममा भोलि मंगलबार (जेठ ११) गते धेरै शक्तिशाली चक्रवातमा परिणत हुने र बुधबार (जेठ १२) गते सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको जानकारी दिएको हो।

बुलेटिनमा भनिएको छ – उक्त चक्रवातको केही असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकाले सबैलाई मौसमप्रति सजग रहन अनुरोध छ। महाशाखाका अनुसार भोलि (मंगलबार) अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा हुने सम्भावना छ।