मृतकका आफन्तले गरे स्वास्थ्यकर्मीमाथि  नै आक्रमण

काठमाडाैं । नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको कारण  मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि  नै आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । उनका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा। चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् ।

मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उनको भनाइ छ । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयूकक्षमा तोडफोड गरेका छन् ।

ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिइन्  । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थियो ।