मणिपाल खरिदकर्ता भन्छन्, जमीन किनिएको होइन शेयर शतप्रतिशत किनिएको हो

काठमाडौं । गत बिहीबार समाचार बाहिरियो ‘मणिपाल बिक्री।’भारतको मणिपाल समूहको लगानीमा रहेको ‘मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप लिमिटेड’ सरकारी सम्झौताविपरीत बिक्री गरिएको भन्दै चर्को आलोचना भइरहेको छ।

मणिपाल समूहले २९ वर्षदेखि मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्दै आए पनि मणिपाल समूहले पोखराकै बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेजका नारायण पौडेलसँग ‘सेयर पर्चेज एग्रिमेन्ट’ गरेको छ।

बतास र पौडेल मिलेर बनाएको ‘बपो होल्डिङ्स’ नामक कम्पनीसँग समूहले एग्रिमेन्ट गरेको हो।


सरकारसँग भएको सम्झौताविपरीत सरकारलाई थाहा नदिई बिक्री गरेको भन्दै मणिपाललाई सरकारीकरण गरिनुपर्नेसमेत भन्न थालिएको छ। सन् १९९२ मा नेपाल सरकार र मणिपाल समूहबीच सम्झौता भएको थियो, अस्पताल सञ्चालन गरिएको ४९ वर्षपछि सरकारलाई हस्तान्तरण गर्ने भनेर।

सरकार र समूहबीच सम्झौता भएको २ वर्ष अर्थात् १९९४ मा मणिपाल सञ्चालनमा आएको थियो। तर, सम्झौतापत्रमा भने बिक्री गर्न नपाइने भन्ने कुरा उल्लेख गरिएको छैन। १६० रोपनी जग्गामा ४९ वर्षका लागि भाडामा उपलब्ध गराइएको सम्झौतापत्रका उल्लेख छ, जसमा ३ सय ५० शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने थियो।

१६० रोपनी जग्गा मणिपाल समूहले भाडामा लिए पनि ४० रोपनी जग्गा खरिद गरेको थियो। जसमा अस्पतालको मुख्य भवन पर्छ। जसको लालपुर्जा मणिपालकै नाममा छ।

मणिपालसँग गरिएको सम्झौतामा करार अवधि नसकिएसम्म बन्द गर्न चाहेमा वा भाडामा दिन नपाउने भए पनि सेयर खरिद तथा बिक्री गर्नका लागि कुनै पनि कानुन बाधक नबन्ने बतासले बताए।

उनले भने, ‘सेयर मात्र बिक्री गर्न खोजिएको हो। उक्त सेयर खरिद बिक्री गर्न कुनै पनि कानुन बाधक बन्न सक्दैन। मणिपाल अस्पतालको सेयर आधा वा शतप्रतिशत खरिद–बिक्री गर्न पाइँदैन भन्ने अर्थ लाग्छ। कानुनी रूपमा पनि स्पष्ट हुन आउँछ।’

मणिपाल समूहले खरिद गरेको जग्गाबाहेक अन्य संरचना सम्झौताअनुसार नै सरकारको हुने उनले बताए।

उनले भने, ‘लिजमा भएको सम्पत्ति कसरी बेच्न पाइन्छ भन्ने ठूलो आवाज आइरहेको छ। सत्य कुरा त्यही हो। ४० रोपनी जग्गा अस्पतालकै नाममा छ। १६० रोपनी सरकारको नाममा छ। ४९ वर्षपछि हस्तान्तरण हुन्छ। त्यसमा कुनै शंका छैन। तर, ४९ वर्षपछि पनि कलेजलाई आवश्यक परे त्यो बेलाको भाडा मूल्यांकन गरेर थप गरिनेछ।’ आफूहरूले कम्पनी भन्दा पनि सेयर किनेको बतासको भनाइ छ।

उनी भन्छन्, ‘स्पष्ट गरिनुपर्ने कुरा के हो भने हामीले शतप्रतिशत सेयर लिएका हौँ। कम्पनी नै किनेको भन्नुभन्दा सेयर किनेको हो। यो सेयर किनबेच हो। यस्तै किनबेच हामीबीच पनि भएको हो।’