‘छोरी माग्न जाँदा, विहे गर्छु भन्दा ससुरा परे दोधारे भन्छन्, तिम्रो छ र के भर खोजी आउँ पहिले सरकारी जागिर’ ।
डा पाइलट समूहका क्रान्ति आलेले गाएको यो गीतले सरकारी जागिर प्रतिको मोहलाई स्पष्ट पारिदिएको छ । सरकारी जागिर नभएकाको विहे नै नहुने पो हो कि भन्ने नकारात्मक सन्देश पो गयो कि भन्नेहरु पनि छन् ।
अर्थ जता लगाएपनि हुने देखिन्छ । कुनै बेला जागिर भन्दा उद्यम गर्नु पर्छ भन्ने हाम्रो समाज अहिले जसरी भएपनि सरकारी जागिर नै खानु पर्दछ भन्ने सोच पलाउन थालिसकेको छ । सरकारी जागिरको यो मोह किन भयो होला भन्ने तर्क वितर्क धेरै छन् । यद्यपी संकटका बेला नियमित तलव पाउने ग्यारेण्टी छ छँदैछ । पछिल्लो समय पैसा कमाउने थलोका रुपमा पनि सरकारी जागिरका रुपमा लिन थालिएको छ ।
निजामती सेवामा कार्यरत सरकारी कर्मचारी हुन् या अहिले संघीय संरचना पश्चात स्थानीय तहमा कार्यरत कर्मचारी नै किन नहुन् । हाजिर गरे वापत तलव र काम गरे वापत भत्ता खानै पर्ने भन्ने सोच एकातिर देखिन्छ भने अर्कोतिर कुनै पनि जनसेवाको काममा आर्थिक फाइदा नलिई फाइल नै अगाडि नबढ्ने प्रचलन पनि मौलाउँदै गईरहेको देखिन्छ ।
तात्कालिन प्रधानमन्त्री शुशील कोइरालाले सरकारी कार्यालयले पाँच हजार भन्दा माथिको भुक्तानी गर्दा तीन दिनसम्म वेवसाईटमा राख्नै पर्ने वाध्यकारी नियम बनाएका थिए । केही समय त्यसले काम गरेपनि अहिले रोकिएको छ । त्यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्माले ओलीले मुलुकलाई भ्रष्टाचार मुक्त देशका रुपमा परिकल्पना गर्दै हरेक सरकारी कार्यालयको मुख्य ढोकामा नै लाखौ खर्च गरिरे भित्ते लेखन गरियो
‘म भ्रष्टाचार गर्दिन
म भ्रष्टाचार हुन दिन्न’ तर यो केवल आँखामा छारो हाल्ने काम मात्र भयो । २०४७ सालमा प्रजातन्त्र प्राप्ति पछि खुल्लम खुल्ला मौलाउँदै गएको भ्रष्टाचार संघीय गणतन्त्रपछि त यसरी मौलायो कि भ्रष्टाचार विना सास फेर्न पनि मुश्किल होला जस्तो देखिएको छ ।
भ्रष्टाचार न्यूनिकरण गर्नका लागि स्थापित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्ति भई पदबहाली गर्दै गर्दा नवीन घिमिरेले भनेका थिए, ‘मालपोतका कर्मचारीलाई भ्रष्टाचारमा कार्वाही गर्ने हो भने कार्यालय नै रित्तो हुन्छ । ’ यस्ता अभिव्यक्तिले कर्मचारीलाई भ्रष्टाचारबाट रोक्न होइन भ्रष्टाचार गर्न उत्साहित गरिरहेको भान पक्कै पनि हुन्छ होला ।
अझ सार्वजनिक खरिद ऐनले कोटेशनका नाममा आफ्ना मान्छेलाई सुटुक्क कागज मिलाएर रकम पोस्ने अधिकार पनि दिएको छ । यसले कर्मचारीलाई भ्रष्ट हुन सिकाईरहेको छ ।
रमाईलो कुरा त के छ भने निजामती सेवाका कार्यरत सरकारी कर्मचारीहरुका लागि राज्यले नियमति मासिक तलव, भत्ता सुविधा, सवारी, इन्धन पद अनुसार थप सुविधा पनि उपलब्ध गराएको छ । ताकी कर्मचारीले जनताको सेवा चुस्तसँग गर्न सकोस् भन्ने हेतुले नै होला । तर, सरकारले दिएको यत्तिका धेरै तलव सुविधा लिएर पनि घुस नखाई काम नै गर्ने प्रबृत्ति भने रोकिन सकेन ।
त्यसैले क्रान्ति आलेले गाएको गीत जस्तै ससुरा बालाई पनि सरकारी जागिर खाएकै ज्वाई चाहिएको छ । ताकी उसले मज्जाले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउन सकोस् । सुख सुविधा लिन सकोस् र छोरीका सम्पूर्ण आवश्यकता पूरा गर्न सकोस् ।
नेपाल विश्वको भ्रष्ट देशहरुको सूचिमा १२१ औ नम्वरमा पर्दछ अर्थात निकै भ्रष्ट देशहरु मध्ये नेपाल पनि एक हो । त्यसकारण पनि सरकारी कर्मचारीहरु भ्रष्टाचारमा चुर्लुम्म डुवेका छन् । त्यसैले पनि नेपालका सरकारी कर्मचारी रातारात करोगपति बनिरहेका छन् ।
कसरी बनिरहेका छन् त कर्मचारीहरु करोडपति ?
सरकारी निकायमा कुनै पनि काम गर्दा विना सेटिङ्ग काम नै हुँदैन । नियमसँगतले काम गर्ने हो भने त्यसले निकै नै दुख पाउँछ । तर सेटिङ्ग एवं दलालहरुसँगको मिलेमतोमा काम गर्ने हो भने पनि हुँदै नहुने काम पनि तुरुन्तै हुने गर्दछ । सार्वजनिक पद धारण गरेका कर्मचारीहरुको तलव स्केल हेर्ने हो भने शहरमा बसेर भात खान पनि धौधौ हुन्छ । तैपनि रसदपानदेखि सुरासुन्दरीसम्मका लागि खर्च गर्ने रकम कहाँबाट आउँछ ? काठमाडौंका महंगा स्थानहरुमा कर्मचारीहरुको ठूला ठूला भवन कसरी बन्ने गरेका छन् स्वत अनुमान लगाउन सकिन्छ ती सवै आर्थिक प्रभाव र भ्रष्टाचारबाट नै हो ।
हुन त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरेक दिन कुनै न कुनै रुपमा भ्रष्टाचार गरेको निहुँमा साना कर्मचारीहरुलाई मुद्धा दायर गर्ने, नियन्त्रणमा लिने गरेको छ । भ्रष्ट भनेका के पाँच सात हजार घुस खानेहरु मात्रै हुन त ? साना माछा मात्र पक्राउ गर्ने अख्तियारले किन ठूला माछा समाउन सक्दैन भन्ने चर्चा अहिलेदेखि होइन विगतदेखि नै चल्दै आईरहेको पनि छ ।
केही प्रतिशत बाहेक अधिकांश सरकारी कर्मचारीहरुले सेवाग्राहीहरुलाई ढिलासुस्ती गरेर वा कागज पत्र नमिलेको भन्दै असुल उपर गर्ने गरेको देखिन्छन् । त्यस्तै कोटेशनका नाममा, ठेक्का मिलाउने नाममा एवं काम दिने नाममा कर्मचारीहरु भ्रष्टचार गरेर करोडपति बनिरहेका छन् ।
२०४६ सालमा शाखा अधिकृत वा नायव सुब्वामा जागिर खाएको व्यक्ति अहिले कम्तिमा सहसचिव वा सचिव नै भईसकेका हुन सक्छन् । यो तीस वर्षका वीचमा हेर्ने हो भो तलवले मात्र करोडपति कसरी सम्भव छ । पछिल्लो समय त सरकारी सेवा प्रवेश गरेको पाँच सात वर्षमा नै करोड पनि बन्ने कति छन् कति ? सरकारी सम्पत्ति अपचलनदेखि कागजपत्र मिलाएर, जिन्सी खरिदमा कागज मिलाएर पनि कर्मचारीहरु करोडपति बनिरहेको स्पष्ट देखिन्छ ।
Add Comment