काठमाडौं । कोभिडको सङ्क्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताएका छन् । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको मनाङमा सङ्क्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अनिवार्य गरिएको आचार्यले बताए।
शून्य कोरोना सङ्क्रमित रहेको जिल्लामा बाह्य जिल्लाबाट प्रवेश गर्ने व्यक्तिमार्फत सङ्क्रमण सर्न सक्ने भनेर उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यले बताए । “अन्नपूर्ण पदमार्गमा पर्यटक भित्रिन्छन् । उनीहरुलाई खोप कार्ड र मास्क अनिवार्य गरेका छौँ । शून्य कोभिड जिल्ला भएकाले सोहीअनुरूपको राख्ने प्रयासमा छौँ,” आचार्यले भने ।
प्रजिअ आचार्यका अनुसार मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन् । उनका अनुसार जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, सर्वदलीयका साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना सङ्क्रमण रोक्न सम्पूर्णका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
Add Comment