काठमाडौ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा उक्त कम्पनीसँग रु ११ करोडमा कागज खरिदका लागि सम्झौता भएकामा महिना अवधिभित्र उपलब्ध सर्त रहेको जानकारी दिइयो । स्थानीय तहसँग त्यहाँ सक्रिय रहेको राजनीति दलको विवरणका आधारमा उम्मेदवार सङ्ख्या आँकलन गरी कति प्रकारका मतपत्र छपाउने भन्ने विषय टुङ्गोमा पुग्न भने बाँकी नै छ । निर्वाचन आयोगमा दर्ता रहेका १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही फागुन ५ गतेदेखि १५ गतेसम्म ११ दिनको समयावधि दिएर दल दर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो । निर्वाचनका लागि आवश्यक पर्ने १५ प्रकारका सामग्री प्रदेश र निर्वाचन कार्यालय खरिद गरी व्यवस्थापन गर्नसमेत आयोगले निर्देशन दिइएको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले अर्थ मन्त्रालयसँग रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट माग गरेको छ । रकम निकासाका सम्बन्धमा आयोग र मन्त्रालयबीच छलफल भइरहेता पनि हालसम्म निकासा भइ नसकेको जानकारी दिइयो ।
Add Comment