काठमाडौँ । नेपाल भर मधुमेहको रोग तिव्र गतिमा फैलिरहेको हुँदा यसबाट बच्न समयमै सावधानी अपनाउनुपर्नेमा नेपालीहरु सचेत हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बिरोध खतिवडाले जोड दिएका छन् ।
शनिबार भएको कार्यक्रममा इन्डो,नेपाल,बेलायत मधुमेह सम्मेलन तथा मधुमेह नेपालको बार्षिक व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले नेपालमा कुल मृत्युदरको झण्डै ४ प्रतिशत मधुमेहले ओगटेको र विश्वका करिब ५० करोड मानिस यसबाट पीडित रहेको बताएका छन् । दिनप्रतिदिन बढदै जादाँ ६०० देखि ७०० मिलियन सम्म पुग्न सक्ने बताए ।
नेपालजस्तो अल्पविकसित राष्ट्रमा मधुमेहबाट पीडित तर जानकारीको अभावमा दर्ता नगरेका हजारौं व्यक्ति हुन सक्छन्, भन्दै, सरकारले छिट्टै निःशुल्कको नयाँ व्यवस्था ल्याउने बताउदै ४० वर्षभन्दा माथिका व्यक्तिको स्वास्थ्य परीक्षण गर्दा सरकारले सन् २०२४ सम्ममा नसर्ने रोगसम्बन्धी नीति ल्याउने मन्त्रीले भनेका छन् ।
कार्यक्रम उद्घाटन समारोहमा मन्त्री खतिवडाले नेपालमा मधुमेह नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै वरिष्ठ चिकित्सक प्राध्यापक डा, सञ्जीव ढुंगेललाई लाइफटाइम एचिभमेन्ट मधुमेह पुरस्कार प्रदान गरेका छन् । अवार्ड ग्रहण गरेपछि डा ढुङ्गेलले मधुमेह नेपाल र हेल्थ नेपाल एक्सचेन्जले विश्वभर मधुमेहको उपचारमा भएका नयाँ विकासका बारेमा जानकारी गराई मधुमेह रोगीलाई व्यवस्थापन गर्न र नेपाली स्वास्थ्यकर्मीलाई मधुमेह रोगबारे जनचेतना गराउन महत्वपूर्ण योगदान पुराएको बताए ।
बेलायतस्थित संस्था हेल्थ एक्सचेन्ज नेपालका महासचिव डा सत्यन राजभण्डारीले आफ्नो संघले डाइविटिज नेपाललाई स्वास्थ्यकर्मी र बिरामीका लागि विभिन्न मधुमेह सचेतना तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको बताए । हेल्थ एक्सचेन्ज नेपालले बेलायतको रोयल कलेज र नेपाल मेडिकल एसोसिएसनबाट हालका कार्यक्रमहरूलाई गुणस्तरीय बनाउन स्वीकृति प्राप्त गरेको राजभण्डारीले बताएका छन् ।
आजको कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै डाइविटिज नेपालका महासचिव कैलाश प्रधानले आफ्नो संस्था जनचेतनामूलक कार्यक्रम मार्फत मधुमेह रोकथाम र नियन्त्रणका लागि स्थापना भएको गैरनाफामूलक जनस्वास्थ्य संस्था भएको बताए । डाइविटिज नेपाल आम जनता र मधुमेह रोगीहरूलाई मधुमेह आत्म व्यवस्थापन शिक्षामा विश्वास गर्दछ र प्राथमिकता दिन्छ।
स्वास्थ्य समस्या र यसका जटिलताहरूको व्यवस्थापन र नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य व्यवसायीहरूलाई नयाँ प्रविधिहरूसँग अद्यावधिक गर्नुपर्ने , डाइविटिज नेपालले एक दशकभन्दा बढी समयदेखि निरन्तर वार्षिक इन्डो नेपाल युके व्यावसायिक सम्मेलन गर्दै आएको प्रधानले बताएका छन् । डाइविटिज नेपालले वर्तमान समयमा, पछिल्लो विकास र मधुमेहको व्यावहारिक व्यवस्थापन र यसका जटिलताहरूबारे छलफल गर्न मधुमेह क्षेत्रका प्रमुख विशेषज्ञहरू र स्वास्थ्यकर्मीहरूलाई ल्याएको प्रधानले बताए।
नेपाल तथा विदेशका स्वास्थ्यकर्मीहरुको योगदानका कारण संघले हालको कार्यक्रम आयोजना गर्न सक्ने अध्यक्ष रोशनकृष्ण न्याछ्यौंले बताए । डायबिटिज नेपालले यस्ता धेरै कार्यक्रम आयोजना गर्ने बताउँदै कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा युएसभी नेपाल र नेपाल हेल्थ एक्सचेन्जलाई मधुमेह नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौंले धन्यवाद दिए । युएसभी नेपालका कन्ट्री म्यानेजर हिमांशु शेखरले स्वास्थ्यकर्मीहरुको बैठकमा सहभागी हुने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
Add Comment