काठमाडौँ । बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी गाउँपालिकाले ससाना गह्राहरु मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म १ हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ ।
बन्दीपुर गाउँपालिका १ र ३ वडामा जमिन चक्लाबन्दी गरिएको हो । वडा नं ३ मा एक हजार रोपनी र वडा नं १ मा ६ सय रोपनीमा चक्लाबन्दी गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिइएका छन् । उक्त कार्यलाई निरन्तरता दिइने उनले बताएका छन् । कृषि क्षेत्रमा आधुनिकीकरण गरी आयआर्जनमा वृद्धि गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए ।
स–साना गह्रा र बारीमा गोरुले जोत्न गाह्रो हुने र गोरु पाल्ने चलन पनि बिस्तारै हराउँदै जान थालेपछि जग्गा चक्लाबन्दीलाई प्राथमिकतामा राखिएको बताए । जग्गा चक्लाबन्दी गरिएको क्षेत्रमा जोत्न र खेती लगाउन सजिलो होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको बताए । किसानलाई ट्र्याक्टर, कुटानी–पिसानी मिललगायत ५२ थान कृषि औजार प्रदान गरिएको अध्यक्ष थापाले भनेका छन् । थापाले गाउँपालिकाले १४ लाख मूल्य बराबरको किसानलाई कृषि औजार प्रदान गरेको छ ।
जमिन चक्लाबन्दी गरेपछि त्यस क्षेत्रका किसान उत्साहित भएर खेती गर्न थालेका छन् । साना खेतबारीलाई डोजर लगाएर ठूला गह्रा बनाएपछि खेती लगाउन सजिलो हुनाका साथै आधुनिक कृषि औजार प्रयोग गरिँदा थोरै जनशक्तिले पनि धेरै काम गर्न सकिने भएको छ । चक्लाबन्दीमार्फत कृषि उत्पादनमा वृद्धि गरी खाद्यान्न बालीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको गाउँपालिकाले बताएका छन् ।
Add Comment