काठमाडौँ । मेलाम्चीको खानेपानी काठमाडौको सुन्दरीजलमा सोमबार राती आएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।
सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन ३ देखि ४ दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले जानकारी दिएका छन् । खानेपानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको बताएका छन् । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो ।
मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनले बताएका छन् । मेलम्चीको पानी सुन्दरीजल आएसँगै आज बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीले अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन् ।
Add Comment