सञ्चारमा लैङ्गिक अवस्था, असुरक्षित, यौनहिंसाका कारण महिला पत्रकार पलायन

काठमाडौँ । जुन कुरा लुकाउन खोज्छन्, त्यो समाचार हो, जुन कुरा सार्वजनिक गर्न खोज्छन् त्यो केवल विज्ञापन हो । समाचारको यो परिभाषाले नै पत्रकारिता पेसाको महत्त्व र चुनौतीलाई दर्शाउँछ । अन्य पेसाभन्दा पत्रकारिता पेसा जोखिम र चुनौतीपूर्ण पेसाका रूपमा लिइन्छ । नेपाली पत्रकारिताले आफ्नो धार बनाउँदै जाँदा यस चुनौतीपूर्ण पेसामा पत्रकार महिलाको आकर्षण पनि दिनानुदिन बढ्दै गएको छ । पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानुलाई नेपाली समाज रूपान्तरण हुँदै गएको अर्थमा पनि लिन सकिन्छ ।

समयक्रमसँगै देशमा आएको परिवर्तन र सञ्चारमाध्यमको विकाससँगै पत्रकारितामा महिलाको सङ्ख्या बढ्नु स्वाभाविक भए पनि यस पेसालाई निरन्तरता दिई लामो समय टिकिरहन धेरै चुनौती पार गर्नुपर्ने अवस्था छ । विभिन्न प्रदेशको दाँजोमा सुदूरपश्चिम प्रदेशमा महिला पत्रकारको इतिहास हेर्ने हो भने धेरै लामो छैन ।

सुदूरपश्चिमका पत्रकार मनमोहन स्वाँरका अनुसार, जिल्लागत रूपमा सर्वप्रथम कञ्चनपुरमा २०५५ र ०५६ बाट पत्रकार महिला पत्रकारिता पेसामा देखापर्न थालेका हुन् । कञ्चनपुरलगतै एक(दुई वर्षपछि कैलालीमा समेत पत्रकार महिलाले काम गर्न थालेको उहाँ बताउनुहुन्छ । यस क्षेत्रमा सुरुका दिनमा पत्रकारिता क्षेत्रमा उदाएका महिला भारती जोशी, मेनुका बस्नेत, पवन वर्षा, देवकी विष्ट, निमा काफ्ले, लोकश्वरी कुँवर, करुणा जोशी हुनुहुन्छ जसमध्ये धेरै अहिले पनि काठमाडौँमा रहेर पत्रकारिता गरिरहनुभएको छ ।

२०६२।०६३ पछि सञ्चारमाध्यमको विकासले पत्रकार महिलाको उपस्थिति आशाजनक देखिन थालेको हो । रेडियो एफएम, पत्रपत्रिका, टेलिभिजनको विकाससँगै नयाँ सञ्चारमाध्यमका रूपमा अनलाइनको विकासले पत्रकार महिलाको सङ्ख्यामा पनि वृद्धि भएको पाइन्छ । पत्रकार लोकश्वरी कुँवरले पेसागत असुरक्षा, नियुक्ति, पारिश्रमिकको समस्याका साथै सामाजिक दृष्टिकोणमा पनि परिवर्तन न हुँदा अहिले पनि पत्रकार महिलालाई लामो समय पेसामा टिकिरहन समस्या भएको बताउनुहुन्छ ।

असुरक्षित कार्यस्थल, पारिश्रमिकमा विभेद, बिनानियुक्तिपत्र काम गर्नुपर्ने बाध्यता, सहकर्मीबाट हुने यौनहिंसा, काम गर्ने समयसीमा अनिश्चित हुनु आदि कारण पत्रकार महिला पेसाबाट पलायन हुने गर्दछन् ।

उहाँ अगाडि थप्नुहुन्छ, “१० बजेदेखि ४ बजेसम्म जागिरे छोरी–बुहारी चाहने हाम्रो समाजले समयसीमा नै नहुने पत्रकारिता गरेका छोरी–बुहारीलाई हेर्ने दृष्टिकोण नै फरक छ । पत्रकारितामा टिक्न पेसाप्रति कटिबद्ध हुनुपर्छ, जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्न सक्नुपर्छ ।”अहिलेको अवस्थामा आइपुग्दा स्थानीयदेखि राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत थुप्रै पुरुष पत्रकारका बीचमा महिलाको सङ्ख्या न्यून छ । वरिष्ठ पत्रकार स्वाँरले पत्रकार महिलाको गुणात्मक विकास हुुनुपर्ने बताउनुहुन्छ ।

कैलाली र कञ्चनपुरबाहेक डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला पहाडी जिल्लामा समेत अहिले पत्रकार महिला नाम चलेका सञ्चारमाध्यममा कार्यरत छन् । तराईमा काम गर्ने महिलाका आफ्नै समस्या छन्, पहाडी जिल्लामा काम गर्ने पत्रकार महिलाका भौगोलिक विकटताका आफ्नै समस्या छन् विविध समस्याका बाबजुद पनि महिलाले पत्रकारिता क्षेत्रमा आफ्नो भविष्य खोजेका छन् । घरपरिवार समाज र भूगोललाई चुनौती दिँदै उनीहरू अग्रपङ्क्तिमा आफूलाई अब्बल देखाउन प्रयासरत देखिन्छन् ।

अछामबाट पत्रकारिता गरिरहेकी मेनुका ढुङ्गाना पहाडी क्षेत्रमा पत्रकारिता गर्दाका चुनौती अझ फरक भएको बताउनुहुन्छ । पत्रकार महिलाको क्षमतामा विश्वास नगर्ने, आफ्नै साधन नहुँदा अरूको सहयोग माग्दै फिल्ड रिपोर्टिङमा हिँड्दा चरित्रमाथि औँला उठाउने जस्ता चुनौतीको सामना गर्नुपरेको उहाँको अनुभव छ । जिल्लामा धेरै महिला रेडियो, एफएममा काम गर्ने भए पनि उनीहरू रेडिमेड समाचार वाचनबाहेक बाहिरी रिपोर्टिङका विषयमा जानकार नभएको पहाडी जिल्लामा पत्रकारिता पेसामा भविष्य बनाउन निकै चुनौती छ । हरेक परिस्थितिसँग जुध्न सक्नेलाई यो पेसामा अवसर सँंगसंँगै टिकिरहन सकिने अनुभव पत्रकार ढुङ्गानाले सुनाउनुभयो ।

नेपाल पत्रकार महासङ्घबाट सदस्यता लिएका सुदूरपश्चिमका पत्रकार महिलाको तथ्याङ्क हेर्दा आशालाग्दो देखिए पनि महासङ्घको सदस्य भएका थुप्रै महिला अहिले क्रियाशील पत्रकारिता नगरेको अवस्था छ । तीन वर्षअगाडि नौ जिल्लामा महासङ्घको जम्मा सदस्य सङ्ख्या एक हजार हुँदा पत्रकार महिलाको सङ्ख्या १४९ जना रहेको थियो । २०७८ सालसम्म आउँदा एक हजार २१२ जम्मा सदस्य सङ्ख्यामध्ये १८१ जना पत्रकार महिला सदस्य रहेको तथ्याङ्क छ ।

यो तथ्याङ्कलाई हेर्दा पत्रकार महिलाको आशालाग्दो विकास भएको देखिन्छ तर सक्रियता र कार्यगत हिसाबले हेर्दा पत्रकारितामा महिलाको निराशाजनक उपस्थिति छ । पत्रकारिता पेसामा आउने र केही समय काम गरेर पलायन हुने गरेको पाइन्छ । पत्रकार महिला सुरुमा जसरी जोस जाँगरका साथ यस पेसामा प्रवेश गरेका हुन्छन् तर उचित पारिश्रमिक नपाउने, असुरक्षित कार्यस्थल, विवाहका कारण कतिपय महिला पेसा छाड्न बाध्य भएका छन् ।

चुनौती र अवसर

पत्रकारिता हरबखत तयारी अवस्थामा रहनुपर्ने पेसा हो । आकस्मिक घटना घटेका बेलामा जति बेला पनि समाचार तयार गर्न सक्नुपर्दछ । हाम्रो जस्तो सामाजिक परिवेश भएको क्षेत्रमा त महिलाका लागि अझ थप चुनौतीपूर्ण पेसा हो । साँझ र बिहान नभनी घरबाट जति बेला पनि निस्कन सक्ने वातावारण कमै महिलाले पाउँछन् । यस पेसामा हुन सक्ने भौतिक र मानसिक असुरक्षा, समयको असीमितताका कारण पनि थोरै महिला मात्रै यस पेसामा आकर्षित हुने गर्दछन् ।

सुदूरपश्चिममा पत्रकार महिलाका छुट्टै समस्या र चुनौती रहेका छन् । भौगोलिक विकटताका बाबजुद पनि समाचार सङ्कलन गर्न टाढा–टाढासम्म पुग्नुपर्दाका चुनौती एकातिर छन् भने पुरुषसरह महिलाले संँगसँंगै काम गर्दा भोग्नुपर्ने चुनौतीको अर्को पाटो छँदै छ । पत्रकार महिलाका लागि जति चुनौती छन् त्योभन्दा धेरै अवसर पनि छन् । टेलिभिजन, रेडियो, अनलाइन र पत्रपत्रिकालगायतका सञ्चारमाध्यमको व्यापक वृद्धिले पत्रकार महिलालाई काम गर्ने अवसर प्राप्त हुँदै गएको छ । हरेक क्षेत्रमा समान सहभागितालाई जोड दिँदै आएको छ भने पत्रकारिता क्षेत्रमा पनि समावेशीतालाई जोड दिँदै पत्रकार महिलालाई सञ्चारमाध्यममा अवसर दिने गरिएको छ ।

पत्रकार महिलाको अवस्था

पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला समितिमा महिला उपाध्यक्ष अनिवार्य गरेको छ । सोही नीतिअनुरूप सुदूरपश्चिम प्रदेशमा समेत जिल्ला र प्रदेश समितिमा पत्रकार महिला रहेका छन् । करिब यस पेसामा दुई दशकभन्दा बढी समय निरन्तर काम गरेका महिला पनि निर्णायक तहमा भने छैनन् । पत्रकार महिलाका लागि यो सबैभन्दा दुःखको कुरा हो ।

पत्रकार महिलाका लागि अवसर र चुनौतीको चर्चा गरिरहँदा निरन्तर काम गरिरहेका महिला पनि किन निर्णायक ठाउँमा पुग्न सकिरहेका छैनन् भन्ने विषयमा पनि बहस गर्न जरुरी छ । पहाडी जिल्लामा पत्रकार महिला पनि नेतृत्व लिने क्षमतामा पुग्नु जरुरी छ । महासङ्घको सङ्ख्यामा मात्र पत्रकार महिलाको सङ्ख्या देखिने होइन । काम गर्ने विषयमा समेत पत्रकार महिलाको निरन्तरतालाई कायम राख्न पत्रकार महिलाको हित र विकासमा आवाज उठाउनका लागि पनि जिल्ला जिल्लामा नेतृत्व तहमा पत्रकार महिलाहरूको उपस्थिति हुनु जरुरी छ ।

के गर्न सकिएला

पत्रकार हुनुका नाताले पुरुष वा महिलाका पेसागत हकहितका मुद्दा एउटै हुन् । यी पेसागत साझा मुद्दाका लागि सरोकारवाला निकाय निरन्तर लागेका छन् । पत्रकारिता क्षेत्रका साझा जटिलता सँंगसँंगै पत्रकार महिलाले लैङ्गिक हिसाबले पनि धेरै अप्ठ्यारा झेल्दै आएका छन् । असुरक्षित कार्यस्थल, पारिश्रमिकमा विभेद, बिनानियुक्तिपत्र काम गर्नुपर्ने बाध्यता, सहकर्मीबाट हुने यौनहिंसा, काम गर्ने समयसीमा अनिश्चित हुनु आदि कारण पत्रकार महिला पेसाबाट पलायन हुने गर्दछन् । यस्ताखालका समस्यालाई समाधान गर्न प्रेस काउन्सिल, नेपाल पत्रकार महासङ्घ, सञ्चारिका समूहलगायतले निरन्तर बहस र दबाब दिन जरुरी छ ।

पत्रकार महिलाको समस्यालाई केवल महिलाको समस्याका रूपमा मात्र नलिई हरेक सञ्चारमाध्यममा लैङ्गिकमैत्री वातावरण बनाउन लाग्नुपर्दछ । रातको समयमा कार्यालयबाट घरसम्म सुरक्षित वातावरणमा पु¥याउने व्यवस्था सम्बन्धित सञ्चारमाध्यमले गर्नुपर्छ ।

यो संँगसंँगै महिलाले पनि आफूले अवसर पाउँदा आफूलाई अब्बल सावित गर्न कोसिस गर्नुपर्छ । नेपाल पत्रकार महासङ्घले पनि महिलालाई अगाडि बढाउन पदाधिकारीमा महिला धेरैभन्दा धेरै सङ्ख्यामा निर्वाचित गराउन पहल गर्नुपर्छ । सरकारी सञ्चारमाध्यममा वा सञ्चारमाध्यमसम्बन्धी नीति निर्माण गर्ने ठाउँमा राज्यले प्रतिनिधि नियुक्ति गर्दा पत्रकार महिलाको सहभागितालाई पनि अनिवार्य व्यवस्था गर्नुपर्छ । लेखनवृत्ति, तालिमलगायतका अवसरमा समेत सरोकारवालाले पत्रकार महिलाको सहभागितालाई जोड दिनुपर्छ ।

अन्तर्राष्ट्रिय अभ्यास

सञ्चारमाध्यममा लैङ्गिक विभेद नेपालमा मात्र होइन संसारका अन्य मुलुकमा पनि छ । सन् १९९३ मा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले आफ्नो सङ्गठनमा समान अवसरको नीति लागू ग(यो । सन् २००१ मा महासङ्घले पत्रकारिता र सङ्घहरूमा महिला, समान सुविधा, मिडियामा महिलाको चित्रण, महिला नेटवर्क र तालिममा पहुँचका विषयलाई जोड दिने निर्णय गरेर काम गर्दै आएको पाइन्छ । सञ्चारमा लैङ्गिक विभेद अन्त्यका लागि लैङ्गिक वा समान अवसरको नीति, लैङ्गिक सर्वेक्षण, सकारात्मक रोजगारी रणनीति, कार्यस्थलमा पारिवारिक वातावरण, यौन दुव्र्यवहारप्रति कडा नीति, आचारसंहितामा लैङ्गिक संवेदनशीलताको नीति अवलम्बन गर्नुपर्ने सुझाइएको छ ।

गोरखापत्रबाट