काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सवारी साधनहरुको इम्वोष्ट नम्वर अंग्रेजीमा भएको भन्दै चर्को विरोध भईरहेका बेला नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा .देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ ।
नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वर्द्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न माग गर्दै बारले विज्ञप्ति जारी गरेको छ ।
बारमा महासचिव अधिवक्ता अञ्जिता खनालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, “यातायात व्यवस्था विभागबाट सवारीसाधनको नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ”, । “जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्षरुपमा कुनै पनि कार्य गर्न मिल्दैन ।”
नेपालको संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ भनिएको छ । संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनिएको छ ।
त्यस्तै नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने उल्लेख छ ।
बारको कार्यसमिति बैठकले नेपाली नागरिकले सदियौँदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु भनेको नेपाली नागरिकको भाषासम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन् भएको ठहर गरेको छ ।
Add Comment