काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुव्र्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताएकी छिन् ।
५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।
बाल दिवसका अवसरमा आज मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिइएको छ ।
भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफूले गर्न हुने र नहुने कामका बारेमा पनि सचेत हुनुपर्ने उनले बताइन् ।
“मोबाइल चलाउँदा राम्रा र नराम्रा कुरा छुट्टयाएर हेर्न मेरो सुझाव छ, असल शिक्षा पाइने कुरा मात्रै हेर्नुपर्छ”, मन्त्री रेग्मीले भनीन । बिहान घरबाट निस्केका सन्तान बेलुका फर्कन्छन् कि फर्कंदैनन् भन्ने अभिभावकमा चिन्ता रहेको उनको भनाइ छ ।
अहिले मोफसलमा कतिपय जिम्मेवार व्यक्तिले नै महिलाको विवाहको उमेर कम गर्ने विषयमा कुरा उठाए पनि आफू त्यसको विपक्षमा रहेको मन्त्री रेग्मीले स्पष्ट पारिन् । उनले भनीन, “उमेर २० वर्षबाट कम गर्ने होइन पढाइ सकाएर मात्रै विवाह गर्न अझै बढाउँदा राम्रो हुनसक्छ ।”
मन्त्रालयका सचिव डिल्लीराम शर्माले बाल अधिकारको संरक्षण गर्दै उनीहरुको सर्वोत्तम हित गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे । बालबालिकालाई सक्षम र योग्य नागरिकका रुपमा विकास गर्न सरकारसँग सबै पक्षले साथ, सहयोग र समन्वय गर्नुपर्नेमा उनको जोड छ ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले धेरै बालिका शिक्षकबाट नै हिंसामा परेका धेरै उजुरी आयोगमा आइरहेको उल्लेख गरे। अहिले २० र २१ वर्षका धेरै युवा जानेर वा नजानेर साइबर अपराधमा संलग्न हुँदा त्यसप्रति सचेत हुन उहाँले बालबालिकालाई अनुरोध गरेका छन् ।
राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंहले मातृ मृत्युदर र ५ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको मृत्युदर पहिलेभन्दा कम भए पनि अझै सुधारका लागि काम गर्न आवश्यक रहेको बताइन् ।
Add Comment